logo
२०८१ बैशाख २५ मंगलवार



राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा मतदान जारी

राष्ट्रिय |


राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा मतदान जारी


राममणि दाहाल
हेटौँडा, माघ १२ गते । राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान जारी छ । अन्य समूह र महिला समूहमा गरी दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहल परिसरमा मतदान चलिरहेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतदान बिहान ९ बजेदेखि सुरु भएको र दिउँसो ३ बजेसम्म चल्ने जानकारी दिनुभयो । मतदान सकिएको एक घण्टापछि मतगणना गरिने जनाइएको छ ।

निर्वाचन आयोगले जारी गरेको २१ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी मतदान भइरहेको छ ।

सभाहल परिसरमा दुई वटा मतदान केन्द्रमा प्रदेश सभाका सदस्यका लागि मतदान केन्द्र क र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखका लागि मतदान केन्द्र (ख) व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि यस प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी)का गोमादेवी तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार रहनुभएको छ ।

यस्तै, एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ र गीता काफ्ले राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बन्नुभएको छ ।

यसैबीच राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा हुने मतदानमा विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नबन्ने भएको छ ।

बागमती प्रदेश सभामा राप्रपाका दुई जना र विवेकशील साझा पार्टीका तीन जना प्रदेश सभाका सदस्य छन् ।

बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि प्रदेश सभाका सभा सदस्य १०९ जना र ११९ स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख सहित ३४६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभाका सदस्यको मतभार ४८ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहने व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?