logo
२०८१ मंसिर ७ शुक्रवार



‘प्रदेशको समृद्धिमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा हुनुपर्दछ’

राष्ट्रिय |
राजनीति |


‘प्रदेशको समृद्धिमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा हुनुपर्दछ’
मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसँग राष्ट्रियसभा अन्तर्गत गण्डकी प्रदेशमा निर्वाचित सदस्य। तस्बिर: अर्जुन काफ्ले


अर्जुन काफ्ले

पोखरा, माघ १३ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले बिहीबार आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गण्डकीलाई अन्य प्रदेश भन्दा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वका बीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको बताउनुभयो।

लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै नेतृत्वका बीचमा व्यक्तिगत व्यवहार ठिक हुन सके राम्रो सन्देश जाने मुख्यमन्त्री पोखरेलको भनाइ थियो।

उहाँले निर्वाचित सदस्यले संविधानको व्यवस्था अनुसार छ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्न आग्रह गर्नुभयो। उहाँले नव निर्वाचित राष्ट्रियसभा सदस्य गण्डकी प्रदेशलाई अब्बल बनाउने अभिभारा पुरा गर्न आग्रहसमेत गर्नुभयो।

कार्यक्रममा नेकपा एमालेका प्रदेश अध्यक्ष नवराज शर्मा, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ र प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचित सदस्यले देश, जनता र राष्ट्रको हितलाई सोचेर काम गर्न आग्रह गर्नुभएको थियो।

राष्ट्रिय सभाको बुधबार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा महिलातर्फ नेपाली काँग्रेसका कमला पन्त, अन्य समूहमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र दलितर्फ माओवादीका भुवनबहादुर सुनार विजयी हुनुभएको थियो।

विजयी तीनै जना उम्मेदवारलाई मुख्यमन्त्री पोखरेल र निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रमाणपत्र वितरण तथा माला र खादा लगाएर सम्मान गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?