अमरराज नहर्की
तनहुँ, माघ १५ गते। मालपोत कार्यालय तनहुँमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सेवा पाँच दिनका लागि स्थगित गरिएको छ। माघ १६ देखि २१ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरिएको कार्यालयले जनाएको छ।
केही कर्मचारीमा सङ्क्रमण भएको कार्यालयमा समेत सेवाग्राहीको अवस्थामा भीड बढेपछि सेवा स्थगित भएको हो। प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा पाँच दिनका लागि सेवा बन्द गरिएको जानकारी गराइएको छ।
सङ्क्रमण दर वृद्धि हुँदै गएपछि जिल्ला प्रशासन तनहुँले कडाई गरेको छ। सार्वजनिकस्थलमा भीडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न आग्रह गरेको छ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लामा शनिबारसम्ममा दुई हजार ४४ जना सङ्क्रमित छन्।