गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपालीकाँग्रेसका नेताहरूले सत्तारूढ गठबन्धनलाई आगामी निर्वाचनसम्म कायमै राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको बताउनुभएको छ ।
अध्यक्ष नेपालले शनिबार बिहान बालुवाटारमा बसेको नेपालीकाँग्रेससहितका शीर्ष नेताहरूको छलफलमा वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म राख्नुपर्ने साझा प्रतिबद्धता आएको दाबी गर्नुभयो । उहाँले आफ्नो दलसँगै सत्ता गठबन्धनमा रहेका दलहरू आगामी निर्वाचनको पूर्ण तयारीमा रहेको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले वैशाखमा स्थानीय तहको निर्वाचन भए पनि आफूहरू तयारी अवस्थामा रहेको छ भन्नुभयो ।
स्थानीय तहको निर्वाचन जुनसुकै समयमा भए पनि त्यसको सामना गर्न तयार आफूहरू तयार रहेको अध्यक्ष नेपालले दाबी गर्नुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०७९ साल असोज २ गतेसम्म कायम रहने भन्दै त्यसपछि निर्वाचनमा जाने व्यवस्था संविधानमा रहेको दाबी गर्नुभयो ।
नेपालले आफ्नो पार्टीको विजयी यात्राको सुरुवात भएको बताउँदै केही महिनाअघि सुरु भएको विजयी यात्रा राष्ट्रिय सभाको निर्वाचनमा आएर थप भएको उल्लेख गर्नुभयो । राष्ट्रिय सभाको पहिलो उपनिर्वाचनको सन्दर्भमा आफूहरू एकातिर र एमाले अर्कातिर भए पनि त्यसमा आफूहरू सफल भएको भन्दै उहाँले नेपाली राजनीतिक आकाशमा सूर्य अस्ताएको र कलम उदाएको दाबी गर्नुभयो ।