गोरखापत्र अनलाइन
काठमाडौं, माघ १६ गते । राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको छ । यसअघि माघ १७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, “विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित गरिएको छ ।”
यसअघि सङ्घीय संसद् सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।