राजन रावत
हुम्ला, माघ १७ गते । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको छ । आइतबार बेलुका टाउको दुख्न थालेपछि शङ्का लागेर कोरोना परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि कार्यालयद्वारा प्रदान गरिँदै आएका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको कार्यालयले एक सूचना प्रकाशित गरेर जनाएको छ । यो अवधिमा नागरिकता लगाएत कुनै पनि सेवा प्रदान नगरिने सो कार्यालयले जनाएको छ ।
कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि कार्यालयले सेवा बन्द गर्नुपरेको जनाएको छ । यसका लागि सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ । आजैबाट प्रमुख जिल्ला अधिकारी गणेश आचार्य बिदामा बसेर घरतर्फ लाग्नुभएको थियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले सहायक प्रजिअ राईलाई कोरोना देखिएको बताउनुभयो ।
उहाँले सहायक प्रजिअ राईले शङ्का लागेपछि आफैँ कोरोना परिक्षण गराउनुभएको बताउनुभयो । हाल उहाँ होम आइसोलोसनमा बस्नुभएको छ । सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ । कोरोनाको तेस्रो लहर हुम्लामा पहिलो पटक गत माघ ७ गते जिल्ला अस्पतालका आठ जना र एक जना माल कार्यालयका कर्मचारी गरी नौ जनामा कोरोना देखिएको थियो ।
उहाँहरु आइसोलेसनमा बसेर घर फिर्ता भइसक्नुभएको छ । हुम्ला जिल्लामा तेस्रो लहरको कोरोना सङ्क्रमित सङ्ख्या दश पुगेको छ ।