logo
२०८१ मंसिर ९ आईतवार



विद्यालयमै पुगेर खोप

राष्ट्रिय |
समाज |


विद्यालयमै पुगेर खोप


जनार्जन खत्री
सर्लाही, माघ १८ गते। सर्लाहीमा विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको छ।

जिल्लाको २० वटै पालिकामा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो मात्रा लगाउन थालिएको हो। स्वास्थ्य कार्यालय मलङ्गवाको तथ्याङ्क अनुसार, सर्लाहीमा एक लाख दुई हजार ९८७ जना विद्यार्थीलाई गत पुस ८ गतेदेखि १२ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा लगाइएको थियो।

उनीहरुलाई नै अहिले धमाधम दोस्रो मात्रा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिनुभयो। विद्यार्थीलाई खोप लगाउन विद्यालयमै स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) सर्लाहीको आइतबार बसेको बैठकले विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप लगाउन माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन विद्यालय खोल्ने निर्णय गरेको थियो। खोप आइपुग्ने ढिला भएकाले अधिकांश पालिकामा मङ्गलबारबाट खोप लगाउन सुरु गरिएको पालिकाका स्वास्थ्य शाखाहरुले जनाएका छन्।

लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले विद्यार्थीलाई खोप लगाउन विद्यालयमै स्वास्थ्यकर्मी पठाइएको बताउनुभयो। उहाँले लालबन्दी नगरपालिकाभित्र करिब १० हजार विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो।

खतिवडाले एकपछि अर्को विद्यालयमा पालैपालो स्वास्थ्यकर्मी पठाएर विद्यार्थीलाई खोप लगाइने बताउनुभएको छ। सर्लाहीमा अहिले स्वास्थ्य चौकीबाट कोभिशिल्डको पहिलो मात्रा, भेरोसेलको दोस्रो मात्रा र वैदेशिक रोजगारीमा जानेलाई जोनसन एण्ड जोनसन खोप लगाउने क्रम पनि चलिरहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?