नारद कोहार
तौलिहवा, माघ १९ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ९ र १० मा पर्ने सिमसार क्षेत्रमा सुचिकृत जग्दिशपुर तालमा विभिन्न मानवीय गतिविधिका कारण चरा घट्दै गएका छन्। विशेष गरेर जग्दिशपुर तालमा डुंगा चलाउन, भौतिक संरचना निर्माण, प्लाष्टिक जन्य पदार्थको फोहोर र अनावश्यक रुपमा डिलमा घुमफिर गर्ने गतिविधिका कारण चराको संख्या दिन प्रतिदिन घट्दै गएको चराविद् भुपाल नेपालीले बताउनुभयो।
विगत चार वर्षको तथ्यांक अनुसार २० देखि २५ हजारको हाराहारीमा यस तालमा चरा देखिने गरे पनि अहिले आएर ८ देखि १० हजार हराहरीमा चराहरु देखा परेको नेपालीले बताउनुभयो। दिन प्रतिदिन पर्यटक क्षेत्रको विकास गर्ने क्रममा हामीले चराको महत्वलाई बुझ्न नसकेको उहाँले बताउनुभयो।
ताल क्षेत्रमा सवारी साधनको प्रवेशलाई रोक लगाए चराको संरक्षण गर्न सकिने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो। जग्दिशपुर तालमा डुंगा चलाएर चरामा कमी नआएको कपिलबस्तु नगरपालिका ९ का वडा अध्यक्ष शिवबहादुर वाग्लेले बताउनुभयो।
तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तानलगायत देशबाट यहाँ चरा आउने गरेको चराविद् बताउछन्। ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेका हुन्। जगदिशपुर जलाशय हिउँदे आगन्तुक चराको स्वर्गीय आश्रयस्थल पनि हो।
१ सय ५७ हेक्टर क्षेत्रफलमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो। सिंचाई प्रयोजनका लागि २०४५ सालतिर बनाइएको हो। यो तालबाट कपिलवस्तुको कुल ६२०० हेक्टर खेतीयोग्य जमिन सिंचित गर्न पानी आपूर्ति हुने गर्दछ।