logo
२०८१ मंसिर ७ शुक्रवार



बेमौसमी वर्षाले जनकपुरको जनजीवन प्रभावित

राष्ट्रिय |


बेमौसमी वर्षाले जनकपुरको जनजीवन प्रभावित


लक्ष्मी चौधरी
धनुषा, माघ २२ गते । बेमौसमी वर्षातका कारण जनजिवन कष्टकरसँगै सरस्वती पूजाको उत्सवलाई निकै प्रभाव पारेको छ । बिहीबार रातिदेखि चलेको हावाहुरी र परेको वर्षाका कारण विभिन्न स्थानमा स्थापना गरिने सरस्वतीको प्रतिमा स्थापित हुन नसकेको हो । स्थापित गर्नका लागि बनाइएका स्टेजहरु कतै भत्केका छन् भने कतै पूर्णरुपमा निर्माण हुन सकेका छैनन् ।

मधेस प्रदेशमा सरस्वती पूजाका बेला माटोले बनेको मूर्ति स्थापित गरी पुज्ने गरिन्छ । हावाहरी र वर्षातले सरस्वती पूजाका लागि तयार पारिएका मूर्तिहरुमा निकै प्रभाव परेकोे छ ।

दुई दिनदेखि निरन्तर भएको वर्षाका कारण मूर्ति बिक्री नभएको बताउनुहुन्छ, धनौजि गाउँपालिका–५का बासिन्दा एवं मूर्तिकार योगेन्द्र पण्डित । ‘हावाहुरीले बचाएर भित्र राख्यौं, तर वर्षाले केही मूर्तिहरुमा असर परेको छ । अहिलेसम्म सबै मूर्तिहरु बिक्री भइसक्नुपर्ने हो । तर, निरन्तर वर्षाका कारण बिक्री हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।

मूर्ति राख्ने टहरो खासै बलियो हुँदैन, हल्का तरिकाले पाल वा जस्ताले बनाएको हुन्छ, तर दुई दिनदेखि निरन्तर भएको वर्षाले मूर्ति जोगाउन कठिन भइरहेको मूर्तिकार पण्डितले बताउनुभयो । साथै उहाँले अलि अलि वर्षाको असर सबै मूर्तिमा परेको छ, केही मूर्ति भने पूर्णरुपले क्षति भएको बताउनुभयो ।

लकडाउनका कारण पहिले जस्तो व्यापार नभएका बेला अचानक आएको हावा र पानीले मूर्तिको व्यापारमा निकै असर परेको पण्डितले बताउनुभयो ।

यस्तै, जानकी मन्दिर अगाडि बेच्न राखिएको बुनियाँ र भुजिया (सरस्वती पूजामा प्रसाद स्वरुप चढाइने मिठाई र नमकिन) पसल यतिबेला भरिभराउ हुनुपर्ने हो, तर, वर्षाका कारण एक–दुई जना ग्राहक मात्र आउने गरेको व्यापारी सितादेवी साह बताउनुहुन्छ ।

यता, पानी पर्नासाथ जनकपुर क्षेत्र जलमग्न हुन्छ । सरस्वती पूजामा भरिभराउ हुने जनकपुरधामका बजार क्षेत्र बिहानदेखि सुनसान देखिएको छ । ठाउँ–ठाउँमा पानी जमेको कारण ई–रिक्सा, टेम्पो जस्ता सवारी पाउन कठिन भएको जनकपुरधाम–८ का विश्वनाथ साहले बताउनुभयो ।

‘पानी परेको बेला रिक्सा पाउन कठिन हुन्छ । बाटोमा पानी जमेपछि दुर्घटनाको हुने सम्भावना बढी हुन्छ । त्यसैले गर्दा पनि रिक्सा पाउन कठिन हुन्छ,’ उहाँले भन्नुभयो ।

यसैगरी, दुई दिन परेको वर्षाले धनुषालगायत मधेस प्रदेशका अन्य जिल्लाहरु पनि प्रभावित बनेका छन् । बिना मौसमको वर्षातले सरस्वती पूजा, व्यापार, दैनिकी जिवनमा हुने क्रियाकलाप लगायतमा प्रभाव पारेको छ । साथै मधेश प्रदेशको सभाको चौथो वार्षिकोत्सवको सार्वजनिक कार्यक्रम स्थगित भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?