logo
२०८१ मंसिर ९ आईतवार



राजनीतिक दललाई जिम्मेवार बनाउने काम प्रेसले गर्नुपर्छः नेता पोखरेल

राष्ट्रिय |
समाज |


राजनीतिक दललाई जिम्मेवार बनाउने काम प्रेसले गर्नुपर्छः नेता पोखरेल


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २२ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक दलले निर्वाचनताका सार्वजनिक गर्ने चुनावी घोषणापत्रको कार्यान्वयन र प्रतिवद्धताबारेमा पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । प्रेसले राजनीतिक दललाई जिम्मेवार बनाउने काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभयो । पत्रकारले तथ्यमा आधारित रहेर सत्य कुराको पहिचान गर्ने भूमिकामा सक्रिय हुनुपर्ने सुझाव दिनुहुँदै नेता पोखरेलले देशको आर्थिक समृद्धि तथा राष्ट्रिय स्वाभिमानको मुद्दामा पत्रकारले दवावमुलक अभियान चलाउन आवश्यक रहेको चर्चा गर्नुभयो ।

मुलुक निर्वाचनको दिशामा उन्मुख भइसकेकाले त्यसका लागि सबैले सकारात्मक दवाव दिनुपर्ने उहाँले बताउनुभयो । निर्वाचन आयोगले निर्वाचनको मितिबारे निर्णय गर्न सरकारलाई दवाव दिइरहेकाबेला सरकारले अझै निर्वाचनको मिति घोषणा नगरेको उहाँले बताउनुभयो । सरकारले समयमा निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी शान्तिपूर्ण दवावको कार्यक्रम शुरु गर्ने उहाँले बताउनुभयो ।

मुलुक आर्थिक समृद्धिको बाटोमा जानुपर्ने भएपनि सोअनुसारको काम हुन नसकेको चर्चा गर्नुहुँदै त्यसकालागि स्पष्ट योजना बनाएर सरकार अघि बढ्न आवश्यक रहेको सुझाव दिनुभयो । प्रेस चौतारी नेपाललाई स्पष्ट विचार र योजनाअनुसार अघि बढाउन उहाँले निर्देश गर्नुभयो । संगठनमा भीड जम्मा गर्नुभन्दा पनि शक्तिमा रुपान्तरण गर्न उहाँले सुझाउनुभयो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पत्रकारले धेरैको समाचार लेख्ने भएपनि पत्रकार स्वयम् समस्यामा पर्दा बोलिदिने कोही नहुँदा समस्या हुनेगरेको बताउनुभयो । प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारको नेतृत्वकर्ता संगठन भएकाले यसको काम चुस्त र प्रभावकारी बनाउन उहाँले सुझाव दिनुभयो ।
संगठनका अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, फोनिजका अध्यक्ष डण्ड गुरुङ, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

एघार जना पत्रकार पुरस्कृत हुने
प्रेस चौतारी नेपालले स्थापना दिवसको अवसरमा ११ जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७ र २०७८ को अवसरमा एकमुष्ट ११ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय चौतारीले गरेको हो । यसअघि कोभिडका कारण पुरस्कार वितरण गर्न नसकेको चौतारीले दुई वर्षको पुरस्कार एकमुष्ट वितरण गर्न लागेको हो । संगठनको महाधिवेशनमा सो पुरस्कार वितरण गरिने बताइएको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेतकाअनुसार हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार २०७८ पूर्व अध्यक्ष गगन विष्टलाई प्रदान गर्ने निर्णय भएको छ । त्यस्तै, अग्नीशिखा स्मृति पत्रकारिता पुरस्कार २०७८ लेखक तथा विश्लेषक झलक सुवेदीलाई प्रदान गर्ने निर्णय भएको छ ।

सोहीअनुसार वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार २०७८ अनुप तिवारी (पर्सा), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार २०७८ हिरा परियार (रुकुम पश्चिम), पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कार २०७८ शिवराज भट्ट (कैलाली) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार २०७८ शान्ति गुरुङ (कास्की) लाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

त्यस्तै, २०७७ सालको पुरस्कारबाट हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, अग्नीशिखा स्मृति पत्रकारिता पुरस्कारबाट कृष्णविनोद लम्साल (सुनसरी), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम (गोरखापत्र), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार सागर पण्डित (राजधानी दैनिक), र पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कार अब्दुल्लाह मियाँ (काठमाडौं) लाई दिने निर्णय भएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?