अमृतप्रसाद पौडेल
बेनी, माघ २२ गते। बिहीबार र शुक्रबार हिमपात भएपछि शनिबार बिहानैदेखि मौसम खुल्दा मुस्ताङका बासिन्दा उत्साहित भएका छन्। हिमपातले गर्दा चिसो बढेर केही असहज भएको भए पनि मौसम खुलेपछि उत्पादन बढ्ने भन्दै हिमालपारीको जिल्लाका स्थानीय उत्साहित भएका हुन्।
यसवर्षको मौसमले गर्दा स्याउ, ओखर, खुर्पानी, कागजी बदाम, आरु बखडाजस्ता फलफूलको उत्पादन बढ्ने देखिएको छ। आत्रेय भन्नुहुन्छ, ‘ताजा तरकारी फागुनदेखि लगाइन्छ त्यसका लागि पनि यो हिउँले गर्दा भरपुर चिस्यान पुग्छ।’
बागवानी विकास केन्द्र मार्फामा उत्पादन हुने रायो, मुला, बन्दा, गाजर, लसुन, धनियालगायत तरकारीको बिउँ पनि राम्रो उत्पादन हुने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीका अनुसार शनिबार बिहानदेखि हिमपात रोकिएपछि अवरुद्ध सबै सडक खुलाउने प्रयास भइरहेको रहेको छ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक खण्डको घाँसा–जोमसोम सडक दिउँसोदेखि सञ्चालनमा आएको छ। उपल्लो मुस्ताङ जोड्ने सडक भने अहिल्यै खुल्ने सम्भावना कम छ। अहिले जोमसोम–घाँसा सडक खुलेको भए पनि जोमसोम–मुक्तीनाथ, जोमसोम–लोमन्थाङ सडक भने अवरुद्ध छन्।