गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २४ गते । काठमाडौँमा सोमबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले यसअघि फाइजर खोप लगाएका बालबालिकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागिएको बताउनुभयो ।
उहाँले माघ २४ देखि आगामी फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।
हरेक विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले भन्नुभयो, “कुन विद्यालयमा कहिले खोप लगाउने टुङ्गो काठमाडौँ महानगरपालिका र अन्य नगरपालिकाहरूले गर्नेछन् ।” काफ्लेले काठमाडौँमा यसअघि दुई लाख सात हजार जना १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूले खोप लगाएको जानकारी दिँदै अब दोस्रो चरणको खोप पनि उनीहरूलाई लगाइने बताउनुभयो ।
गत पुस २७ गतेदेखि सञ्चालन भएको फाइजर खोप अभियानमा खोप लगाएका १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइनेछ । यसरी खोप लगाउनका लागि पहिलो पटक लगाएका खोपको कार्ड लिएर जानुपर्नेछ ।
सङ्क्रमित घट्दै केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप एक हजार ३८६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
अघिल्लो दिन एक हजार ७१४ सङ्क्रमित थिए । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पीसीआरबाट नौ लाख ६६ हजार ४०५ र एन्टिजेनबाट एक लाख ३४ हजार ८२४ पुगेको छ । गत २४ घण्टामा आठ हजार ७०४ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट नौ हजार २५१ जनाको नमुना परीक्षण भएको थियो । उक्त परीक्षणबाट एक हजार ३८६ जना सङ्क्रमित भएका हुन् ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४५ हजार २४८ रहेको छ । कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ । कुल जनसङ्ख्याको ५३ दशमलव २ प्रतिशत पूर्ण मात्रा र ७० दशमलव ४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।