ठाकुरप्रसाद आचार्य
बेनी(म्याग्दी), माघ २६ गते । पश्चिम म्याग्दी मालिका गाउँपालिका ६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरु खन्ने काम थालिएको छ ।
नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पदार्थको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाको प्रवर्धक कालिका हाइड्रोपावर प्रा.लि.का अध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो ।
आयोजना स्थानीयवासी, म्याग्देली प्रवासी साथै गैरआवासीय नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको उहाँले बताउनुभयो । आयोजनालाई अवको तीन वर्षभित्र सक्नेगरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण आयोजना निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो । आयोजना दुईवर्ष अघि शिलान्यास गरिएको थियो ।
आयोजनका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २५० मिटर खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुबैतर्फ सुरुङ निर्माण सुरु गरिने बताउनुभयो । मालिका गाउँपालिका–७ बिम र वडा नं ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ ।
सुरुङमार्ग हुँदै ल्याइने पानीलाई एक सय मिटर हेडबाट रातोढुङ्गामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानी हुनेछ । आयोजना निर्माणमा पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रबन्ध निर्देशक इन्जिनियर हर्कमान घर्तिमगरले जानकारी दिनुभयो ।
सानिमा बैंक प्रमुख रही थप छ वटा बैंकहरुले यस आयोजानमा लगानी गरेका छन् । आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सवस्टेशन मार्फत् केन्द्रिय प्रसारणमा जोडिनेछ । हिउँदको चार महिना प्रतियुनिट आठ रुपियाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपियाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदविक्री हुने सम्झौता भएको छ । आयोजनाको साइट कार्यालय, आवास गृहसहितका भौतिक संरचना तयार पारिएको छ ।