logo
२०८१ जेष्ठ २ बुधवार



फागुन ७ भित्र नयाँ पार्टी घोषणा गर्ने नेता थापाको तयारी

राष्ट्रिय |
प्रदेश |


फागुन ७ भित्र नयाँ पार्टी घोषणा गर्ने नेता थापाको तयारी


गोकुल पराजुली
विराटनगर, माघ २८ गते । राष्ट्रिय प्रजातान्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले फागुन ७ गतेभित्र नयाँ पार्टी घोषणा गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्नुहुँदै नेता थापाले नयाँ पार्टी गठन गरी निर्वाचन आयोगमा फागुन ७ गतेभित्रै दर्ता गर्ने बताउनुभयो ।

पार्टीमा वैचारिक स्खलन भएको र त्यसलाई सुधार गर्ने आफ्नो प्रयत्न सफल नभएपछि पार्टी परित्याग गरेको उहाँले बताउनुभयो । अध्यक्ष थापाले आफ्नो प्रतिज्ञा बमोजिम पार्टी विभाजन नगरेको दाबी गर्नुहुँदै सधैंभरि निष्क्रिय बस्ने हक आफूसँग नरहेकाले नयाँ पार्टी गठनको गृहकार्य अघि बढाएको जानकारी दिनुभयो ।

स्थापनादेखि नै महत्वपूर्ण योगदान गरेको राप्रपा परित्याग गर्नुपर्दा पीडाबाेध भइरहेको भन्दै पार्टीभित्र अघि सारेका सामान्य मागहरु सम्बोधन गर्न पार्टी तयार नभएपछि परित्याग गर्ने अप्रिय निर्णय लिनुपरेको प्रष्टिकरण दिनुभयो । नयाँ गठन हुने पार्टीको मुख्य राजनीतिक मुद्दा हिन्दुराज्य, सुशासन र समृद्धि हुनुपर्ने सुझाव आएकोले त्यसलाई मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि बढाउने उहाँले बताउनुभयो ।

संवैधानिक राजसंस्थाप्रतिको आफ्नो दृष्टिकोणमा कुनै परिर्वतन नभएको भन्दै उहाँले नेपालको सन्दर्भमा राजसंस्था पटक पटक संवैधानिक सीमा मिचेर विश्वास गुमाएको उहाँले बताउनुभयो । ‘संवैधानिक राजसंस्थाप्रतिको मेरो विचार हिजोको झैं भोलि पनि कायमै रहनेछ उहाँले बताउनुभयो । ‘राजसंस्थाले पटक पटक संवैधानिक सीमाहरु उल्लङ्घन गरेका कारण व्यवहारिकरुपमा विश्वास गुमाएको छ,’ अध्यक्ष थापाले भन्नुभयो ।

आगामी दिनमा हुने सबै निर्वाचनमा आफ्नो दलले सहभागिता जनाउने जानकारी दिँदै नेता थापाले भन्नुभयो ‘निर्वाचन आयोगमा दल दर्ता हुनासाथ यसअघि आयोगमा दर्ता भइसकेका केही पार्टीहरुसँग एकता गरेर अघि बढ्नेछौं ।’ उहाँले पार्टीको नामका विषयमा छलफल चलिरहेको जानकारी दिँदै भन्नुभयो ‘राष्ट्रिय एकता पार्टी, नामाकरण गरेर दर्ता गर्ने सम्भावना बढी छ ।’

आगामी निर्वाचनमा विचार मिल्ने पार्टीहरुसँग सहकार्य र कार्यगत एकता गरेर जाने विषयमा पनि पार्टीले छलफल गर्ने उहाँले बताउनुभयो । नेकपा (एमाले) सँग एकता गर्ने तयारी रहेको भन्ने बजारहल्लाका विषय सत्य नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘एमालेसँग एकता होइन चुनावी तालमेल र कार्यगत एकता गर्न हामीलाई सहज हुन्छ । राष्ट्रियताका मुद्दामा अरु पार्टीसँगभन्दा एमालेसँग सहकार्य गरेर अघि बढ्नु उपयुक्त हुनेछ ।’

पार्टी गठन गरेपछि विचारमा सहमत हुने सबैलाई आफूसँगै काम गर्न आव्हान गर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका धेरै नेताहरुले आफूलाई साथ दिएर आउने उहाँको विश्वास व्यक्त गर्नुभयो । ‘अधिवेशनमा हाम्रो समूहबाट बहुमत सदस्यहरु निर्वाचित हुनुभएको छ र उहाँहरुले स्वविवेक प्रयोग गरेर धेरै साथीहरु हामीसँगै आउनुहुन्छ भन्ने मलाई विश्वास छ,’ नेता थापाले भन्नुभयो ।

यसैबीच नेता थापाले एमसीसी परियोजनाका सन्दर्भमा केही गम्भीर प्रश्न उठेकाले ती प्रश्नहरुको निराकरण गरी दलीय समझदारी बनाएर पारित गर्नु उपयुक्त हुने बताउनुभयो । दलहरुको समझदारीमा एमसीसी पारित गर्दा कुनै समस्या नहुने उहाँको भनाइ छ । नेता थापा झापाको दमकमा आफू निकट नेताको घरमा आयोजित वैवाहिक कार्यक्रममा सहभागी हुन विराटनगर आउनुभएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?