logo
२०८१ मंसिर १० सोमवार



आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर जित्छ : अध्यक्ष ओली

राष्ट्रिय |


आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर जित्छ : अध्यक्ष ओली


लक्की चौधरी
काठमाडौं, माघ २८ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर जित्ने दावी गर्नुभएको छ । सङ्घीय, प्रदेश र स्थानीय तह सबै निर्वाचनमा एमालेले जित्छ उहाँले भन्नुभयो ।

स्थानीय तह निर्वाचन तयारीबारे एमालेले शुरु गर्न गइरहेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आज पार्टी मुख्यालय थापाथलीबाट भर्चुवल उदघाटन सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । लोकतन्त्रको विकास, आर्थिक समृद्धि तथा सुशासनका निम्ति तीन तहको सरकारको अभ्यासमा मुलुक गएको भन्नुहुँदै उहाँले स्थानीय तहले जनतालाई घरमै सरकार पुगेको अनुभूति गराएको बताउनुभयो ।

“स्थानीय तह भनेको जनताको सबैभन्दा नजिकको सरकार हो, यसलाई रिक्त हुन दिनुहुँदैन” अध्यक्ष ओलीले भन्नुभयो, “२०७४ को सरकारमा पनि सत्ता गठबन्धनसँग लडेर विजयी हासिल गरेका थियौं, आगामी वैशाख ३० गते तोकिएको निर्वाचनमा पनि हामी विजयी हाँसिल गर्छौं ।” स्थानीय तहमा एमालेको बर्चस्व कायम रहेको र आउने निर्वाचनमा बहुमतसाथ जित्ने उहाँले दाबी गर्नुभयो ।

पार्टीप्रतिको एमालेजनको प्रतिबद्धता, ऐक्यबद्धता र नेपाली जनताको साथलाई अध्यक्ष ओलीले धन्यवाद व्यक्त गर्नुभयो । आगामी निर्वाचनमा पनि जनताको साथ रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । जनताको सेवा सुविधाका लागि स्थानीय सरकार प्रभावकारी भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले प्रसंशा गर्नुभयो । आधुनिक प्रविधिको विकास, किसानलाई राहत, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको सुविधाका लागि स्थानीय सरकारले राम्रो काम गरेको उहाँले चर्चा गर्नुभयो ।

स्थानीय तहसहित आगामी निर्वाचनलाई समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेगरी सदुपयोग गर्ने बताउनुभयो । अध्यक्ष ओलीले एमालेको विजयविना देशमो आर्थिक समृद्धि र सुशासन सम्भव नरहेको दावी गर्नुभयो । राष्ट्रियताको पक्षमा वर्तमान सरकारले ध्यान दिन नसकेको पनि उहाँले टिप्पणी गर्नुभयो । देशको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधिनता तथा सुशासनका निम्ति एमालेले निरन्तर खवरदारी गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

एमालेको ध्यान जनताको सेवा बृद्धि गर्ने, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने, परिवर्तन भएको वास्तविक अनुभूति गराउने हो भन्नुहुँदै अध्यक्ष ओलीले जनप्रतिनिधिलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । “हामी लड्ने आफ्नो लागि होइन, जनताको जीवनस्तरमा सुधार ल्याउनका निम्ति हो, सरकार भएको वास्तविक अनुभूति गराउनका निम्ति हो” अध्यक्ष ओलीले भन्नुभयो, “रोजगारी सिर्जना, उत्पादन बृद्धि गरी परनिर्भरता हटाउनेमा हाम्रो ध्यान हुनुपर्छ ।” सैद्धान्तिकभन्दा व्यावहारिक अनुभूतिका लागि काम गर्न उहाँले पार्टी पङ्तिलाई निर्देश गर्नुभयो ।

आगामी निर्वाचनमा गलत प्रबृत्तिका पार्टीसँग कुनै चुनावी तालमेल नगर्ने अध्यक्ष ओलीले बताउनुभयो । “हामीलाई जनताप्रति विश्वास छ, एक्लै भएपनि निर्वाचनमा जान्छौं” जनता र देशको विरुद्धमा हामीले कुनै पनि काम गर्दैनौं उहाँले चर्चा गर्नुभयो । शान्तिपूर्ण रुपमा आगामी निर्वाचन सम्पन्न गराउनेमा एमालेको सम्पूर्ण ध्यान केन्द्रीत रहेको बताउनुहुँदै अध्यक्ष ओलीले निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

देशको पक्षमा, लोकतन्त्रको पक्षमा एमाले पहरेदारको रुपमा भूमिका खेलिरहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले मुलुक फेरि स्थानीय तहको निर्वाचनको चरणमा रहेकाले त्यसको तयारीमा लाग्न उहाँले पार्टी पङ्तिलाई आव्हान गर्नुभयो । २०५९ देखि २०७४ सम्म देश जनप्रतिनिधिविहीन रहँदा देशको विकास, नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासको विषय ओझेलमा परेको उहाँले स्मरण गर्नुभयो । गत स्थानीय तह निर्वाचनमा एमाले एक्लैले १४ हजार ९९ सिटमा विजयी हासिल गरेको थियो ।

एमाले शुद्धीकरण र सुदृढीकरणको अभियानमा रहेको बताउनुहुँदै अध्यक्ष ओलीले आगामी दिनमा पार्टीले थप उचाई लिने विश्वास दिलाउनुभयो । कार्यक्रमको भर्चुवल उदघाटनका क्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीसहितका नेताहरुको सहभागिता थियो ।

संसद् चलेकै छ
सङ्घीय संसदमा एमालेले आफ्नो माग राख्दै विरोध प्रदर्शन गरे पनि सरकारको काम रोक्ने काम नगरेको उहाँले बताउनुभयो । संसद् बैठक राम्रोसँग चलोस् भन्नेमा एमाले पनि रहेको भए पनि केही संवेदनशील विषयमा सुनुवाइ नहुँदा संसद् बैठक निरर्थक सावित भइरहेको उहाँले बताउनुभयो । संसद स्वतःस्फूर्त रुपमा चलाउन सरकारले वातावरण बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो । त्यसका लागि सभामुख अग्निप्रसाद सापकोटा पनि जिम्मेवार बन्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

सातवटै प्रदेशमा प्रशिक्षण
एमालेले सातवटै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम तय गरेको छ । प्रशिक्षण अवधिमा दशौं महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशाबारे जानकारी गराउने कार्यसूची छ । त्यस्तै, अनुशासित पार्टी निर्माण, राजनीतिक साङ्गठनिक शैलीगत विषय, स्थानीय तहमा पाँचवर्षे अवधिको उपलब्धि र अनुभवबारे जानकारी गराइने एमालेले सूची तय गरेको छ ।

सोहीअनुसार राजनीतिक तथा कानुनी र व्यावहारिक पक्षबारे जानकारी गराउने पनि रहेको सो दलले जनाएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकरी, केन्द्रीय सदस्यदेखि प्रदेश, जिल्लाका पदाधिकारी, स्थानीय तहमा निर्वाचित प्रमुख उपप्रमुखहरुको सहभागिता रहने बताइएको छ ।

प्रशिक्षण कार्यक्रम
एमालेले आगामी फागुन १ गतेदेखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुरु गर्ने कार्यतालिका तय गरेको छ । कार्यतालिकाअनुसार फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा प्रशिक्षण कर्याक्रम गर्ने तय गरेको छ । त्यस्तै, फागुन ३ र ४ गते मधेस प्रदेशको जनकपुरमा, फागुन ६ र ७ गते बागमती प्रदेशको काठमाडौंमा, फागुन ८ र ९ गते गण्डकी प्रदेशको पोखरामा, फागुन ११ र १२ गते लुम्बिनीको बुटवल–दाङमा प्रशिक्षण कार्यक्रम गर्ने तालिका बनाएको छ ।

सोहीअनुसार, फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा, फागुन १६ र १७ गते सुदूरपश्चिमको धनगढीमा कार्यक्रम गर्ने तय भएको एमालेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?