logo
२०८१ जेष्ठ ३ बिहीवार



यथास्थितिमा एमसीसी पास हुँदैन : अध्यक्ष नेपाल

राष्ट्रिय |
प्रदेश |


यथास्थितिमा एमसीसी पास हुँदैन : अध्यक्ष नेपाल


दिपकप्रसाद गौतम
वीरगञ्ज, माघ २८ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा जस्ताको त्यस्तै एमसीसी पास नहुने बताउनु भएको छ । शुक्रबार पर्सा जिल्लाको वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेका पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभयो ।

एमसीसीका ७ विषय स्पष्ट नपारी यथास्थितिमा जस्ताको त्यस्तै पास हुँदैन उहाँले भन्नुभयो । एमसीसीको अहिले पनि अध्ययन नपुगेको र सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको, जनमानसमा बिभिन्नखाले धारणा बाहिर आइरहेको अवस्थामा नेपालको हितमा छ छैन स्पष्ट नभई एमसीसी पास गर्न नसकिने उहाँले बताउनुभयो ।

जनमत एमसीसीको पक्षमा नरहेकाले जनमतलाई आश्वस्त नगराई, एमसीसीको बृहतरुपमा छलफल नगरी आखाँ चिम्लिएर एमसीसी पास गर्ने पक्षमा आफूहरु नरहेको बताउदै उहाँले बिभिन्न ७ विषयमा आफूहरु स्पष्ट हुन खोजिरहेको बताउनुभयो ।

एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ की पर्दैन, अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ की पर्दैन, यसमा अमेरिकाको सैन्य संलग्नता छ की छैन, यस मार्फत निर्माण गरिने ट्रान्समिसन, सडकको तलको भुभागमा नेपालको सार्वभौम अधिकार हुन्छ की हुँदैन, निर्माणको काममा लाग्दा चाहिने श्रमशक्ति नेपालीहरुले आफ्नो योग्यता र क्षमताअनुसार हकको रुपमा प्रयोग गर्न पाउँछन् की पाउँदैन यावत विषयमा आफ्नो दलको चासो रहेको उहाँले प्रष्ट पार्नुभयो ।

यसको लेखापरिक्षण गर्ने अधिकार नेपालको अडीटर जेनरललाई हुन्छ की हुँदैन र एमसीसीसँग जोडिएको कानुनको बारेमा स्पष्ट धारणा नआई पास गर्न नसकिने अध्यक्ष नेपालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?