logo
२०८० चैत्र १६ शुक्रवार



न्यायालयको गतिरोध अन्त्यका लागि महाअभियोग : महामन्त्री थापा

राष्ट्रिय |
प्रदेश |


न्यायालयको गतिरोध अन्त्यका लागि महाअभियोग : महामन्त्री थापा


मधुसुधन तिमल्सिना
काभ्रे, फागुन २ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणलाई महाअभियोग प्रस्ताव आवश्यक भएर नै संसदमा दर्ता गरेको बताउनुभएको छ । काँग्रेस पार्टी कार्यालय बनेपामा कार्यकर्ता भेटघाट कार्यक्रममा सोमबार बोल्नुहुँदै महामन्त्री थापाले न्यायलयमा देखिएको गतिरोध अन्त्यका लागि महाअभियोग दर्ता गरिएको प्रष्ट पार्नुभयो । महाअभियोग ढिलो गरी दर्ता भएको बताउनु हुँदै ढिलो भएपनि सही निर्णय भएको उहाँको भनाई छ ।

“प्रधानन्यायाधीश र न्यायाधीशबीच महिनौदेखि बेञ्च शेयर हुन सकेको छैन । बार र बेञ्चमा कोही पनि उहाँसँग बहस गर्न तयार हुनुहुन्न” उहाँले थप्नुभयो, “प्रधानन्यायाधीशले न्याय परिषद् र न्याय सेवा आयोगमा समेत चलखेल गर्न थालेपछि महाअभियोग दर्ता गर्नुपरेको हो ।”

महाअभियोग दर्ता भएपछि कसरी पास हुन्छ लगायतका बिषय उठेको भएपनि त्यो संसदले नै छिनोफानो लगाउने उहाँको भनाई छ । यो बिषय संसदले हेर्छ, अहिले पास हुन्छ की हुँदैन भनेर बहस गर्न जरुरी छैन उहाँले भन्नुभयो ।

महामन्त्री थापाले एमसीसी संसदमा पेश गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । २०६८ साल यताका सबै सरकारले एमसीसी स्वीकारेको बताउनु हुँदै मुलुकको विकासका लागि वैदेशिक सहायता आवश्यक रहेको प्रष्ट पार्नुभयो । वैदेशिक ऋण भन्दा अनुदान लिनु उपयुक्त हुने बताउनुहुँदै राष्ट्रलाई फाइदा हुने अनुदान सरकारले लिनसक्ने उहाँले बताउनुभयो । सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा फरक कुरा गर्ने कम्युनिष्ट पार्टीको चरित्र रहेको उहाँले बताउनुभयो ।

“काँग्रेस प्रतिपक्षमा हुँदा पनि एमसीसी संसदमा पेश गर्न भनेको थियो, अहिले पनि हामी एमसीसी संसदमा छिटो पेश हुनुपर्छ भनिरहेका छौँ” महामन्त्री थापाले बताउनुभयो । सस्तो लोकप्रियताका लागि काँग्रेसले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा अर्काे कुरा गर्दैन उहाँले भन्नुभयो ।

महामन्त्री थापाले बैशाख ३० मा निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । हल्लाको पछि नलागौ, सरकारले तोकेको मितिमै स्थानीय तहको निर्वाचन हुन्छ उहाँले भन्नुभयो । संविधान र कानूनले तोकेभन्दा फरक हुन सक्दैन । काँग्रेस त्यसमा प्रष्ट छ, थापाले भन्नुभयो ।

काँग्रेस जिल्ला सभापति तीर्थ लामाले गाउँस्तरबाटै काँग्रेसले संगठन निर्माणको अभियान सञ्चालन गरेको बताउनुभयो । काभ्रेको आगामी निर्वाचनमा दुई प्रतिनिधिसभा, चार प्रदेश सभा, १३ पालिका र १३५ वटै वडामा काँग्रेसको नेतृत्व ल्याउने गरी वडास्तरबाट संगठन निर्माण सुरु गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?