तनहुँ, फागुन ६ गते। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्र हितमा भएको बताउनु भएको छ। नेपाली काँग्रेस क्षेत्र नम्बर १ तनहुँले बिहीबार दमौलीमा गरेको स्थानीय निर्वाचन तथा विकास केन्द्रीत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनु भएको हो।
विकास नचाहनेले एमसीसीको विरोध गरेको पौडेलले आरोप लगाउनुभयो। एमसीसीमा नेपालको स्वाभिमानलाई आँच पुग्ने कुरा उल्लेख नभएको बताउनुभयो। अनुदानको गलत प्रयोग हुनबाट रोक्न सडक र बिजुलीमा केन्द्रित गरिएको उहाँको भनाइ छ।
एमसीसी पारित गर्न सबै लाग्नुपर्नेमा पौडेलको जोड थियो। उहाँले बुझेर मात्रै एमसीसीको विरुद्धमा लाग्न विभिन्न पार्टीका नेता र कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो।
एमसीसीका बारेमा अध्ययन गरेर मात्रै आन्दोलन गर्न विभिन्न पार्टीका नेतालाई पौडेलले आग्रह गर्नुभयो। राष्ट्रहित विपरित भए आन्दोलन गर्ने हो तर एमसीसीमा त्यस्ता कुनै पनि कुरा नरहेको पौडेलले बताउनुभयो।
सरकारको कार्य संचालन संयन्त्रका संयोजकसमेत रहनुभएका वरिष्ठ पौडेलले सत्ता साझेदार गठबन्धनमा रहेका दलका नेतासँग आफूले त्यस बारेमा स्पष्ट पारेको समेत बताउनुभयो । एमसीसी पारित भए देशमा विद्युतीय आयोजना र ठूला सडक निर्माण भएर देशले बिजुली बेच्न पाउने पौडेलको भनाइ छ।
आगामी चुनावसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने पौडेलले बताउनुभयो। आउँदो चुनावमा काँग्रेसले जित्ने ठाउँमा आफै लडनुपर्ने र कमजोर मानिसएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नुपर्छ’, पौडेलले भन्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल, धु्रव वाग्ले, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे वि.क., कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, पूर्वसभापति रघुनाथ पौडेललगायत नेताको उपस्थिति थियो।