logo
२०८१ जेष्ठ ७ सोमवार



त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल

राष्ट्रिय |
राजनीति |


त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल
दुम्कीवास त्रिवेणी खण्डको बाटो अवलोकन गर्दै मुख्यमन्त्रीको टोली। तस्बिर गोप


होमराज रानाभाट
दुम्कीवास (नवलपुर), फागुन ६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास त्रिवेणी सडकखण्ड खुलेसँगै नवलपुर मात्र नभई समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने बताउनुभयो।

शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकार स्थापनादेखि नै मार्ग खोल्न प्रयास भए पनि अहिले प्रक्रिया अगाडि बढेको बताउनुभयो। डीपीआरको काम अब सुरु भइहाल्ने भन्दै निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले युनेस्कोले पनि छिट्टै यसको निकास दिने विश्वास व्यक्त गर्नुभयो।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन। चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ।

मुख्यमन्त्री पोखरेलले दुम्कीबासदेखि त्रिवेणी जोड्न बाटोको लागि रकमको कुनै अभाव नहुने पनि बताउनुभयो। मुख्यमन्त्रीसहित अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, प्रमुख सचिव रवीलाल पन्थ, अर्थ सचिव बैकुन्ठ अर्यालसहितको टोलीले दुम्कीवास त्रिवेणी खण्डको बाटो अवलोकन गर्नुभयो।

टोलीमा प्रदेशसभा सदस्य विष्णु लामिछाने, ओमकला गौतम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला सहभागी रहनु भएको थियो।

अवलोकनपछि गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष डम्बरबहादुर जिसीले उत्तरमा पाल्पादेखि दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिका विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गर्नुभयो।

सबैभन्दा ठूलो समस्या निकुन्ज क्षेत्रको बाटो नखुल्नु रहेकोमा अब त्यसको निकास निस्केकोमा खुसी व्यक्त गरे। बाटो नखुल्दा त्रिवेणी क्षेत्रका पालिकाका २ वडाका बासिन्दा प्रदेश नम्बर ५ हुँदै पालिका केन्द्रमा आउनुपर्ने वाध्यता अब छिटै अन्त्य हुने बताउनुभयो।

उक्त अवसरमा पालिका उपाध्यक्ष मीनाकुमारी राना, वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद ढकाल, प्रमुख प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले पालिकाका समस्याका बारेमा भनाइ राखेका थिए।

मुख्यमन्त्री पोखरेलले उक्त पालिकाको दुम्कीवासमा निर्माण सम्पन्न भएको भानुदय नमुना माविको विज्ञान प्रयोगशाला भवनको शुक्रबार नै उद्घाटन गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?