logo
२०८१ जेष्ठ १ मंगलवार



पूर्वाधार निर्माणमा फड्को मार्दै मधेस सरकार

राष्ट्रिय |
प्रदेश |


पूर्वाधार निर्माणमा फड्को मार्दै मधेस सरकार
जनकपुरधामस्थित मधेस सरकारको मन्त्रीपरिषदको कार्यालय । तस्बिर - विजयकुमार साह, ढल्केवर



विजयकुमार साह
ढल्केaर, फागुन ७ गते । मधेस प्रदेश सरकारले चार वर्षमा पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । मधेस प्रदेश सरकारले तयार पारेको प्रगति विवरणअनुसार चार वर्षको अवधिमा पूर्वाधार विकास निर्माणका क्षेत्रमा फड्को मारेका हुन् । सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य संरचना, कृषि तथा सिँचाईलगायत पूर्वाधार निर्माणमा उल्लेख्य उपलब्धि हासिल गरेको दावी गरिएको छ ।

मधेस सरकारले प्रदेशभरमा गरी २२४ किलोमिटर कालोपत्रे सडक, २३७ किलोमिटर ढलान सडक, ९३७ किलोमिटर ग्राभेल सडक र २२५ किलोमिटर माटो सडक निर्माण गरी जम्मा एक हजार ६२३ किलोमिटर सडक निर्माण गरेर सवारीसधान सञ्चालन योग्य बनाएको छ । सोही अवधिमा ३२ वटा पुल र २९२ वटा कल्भर्टको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।

नीति तथा कार्यक्रममा रहेको १० वटा झोलुङ्गे पुलमध्ये तीनवटाको निर्माण कार्य सम्पन्न भएको छ । सिँचाइतर्फ २४ वटा हेडबक्स, १७४ किलोमिटरमा कच्ची नहर, २९ किलोमिटरमा पक्की नहर र ७८ किलोमिटरमा तटबन्ध निर्माण सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ । यसैगरी, मधेसको आठवटै जिल्लाका विभिन्न स्थानमा गरी जनता आवास कार्यक्रममार्फत नौ हजार ४५ वटा घर, नौ वटा सरकारी भवन, ९७ वटा सामुदायिक भवनको निर्माण भएको छ ।

यस्तै, शिक्षा तथा समाजिक क्षेत्रअन्तर्गत मधेसका आठवटै जिल्लाका विभिन्न स्थानमा गरी ६० वटा बर्थिङ्ग सेन्टर, ७६ वटा सामुदायिक भवन, १८ वटा धर्मशाला, तीन वटा योग भवन, दुई वटा शिशु सदन, २० वटा खेलमैदान, पाँचवटा छात्रावास, २२ वटा विद्यालय भवन, तीनवटा वृद्धाश्रम, नौवटा रङ्गशाला, तीनवटा कभर्डहल, दुईवटा अस्पताल, दुईवटा पुस्तकालय, सातवटा मदरसा, तीनवटा मस्जिद, एउटा बालगृह, दुईवटा शौचालय निर्माण गरिएको छ । ३१ विद्यालय र दुईवटा वृद्धाश्रम भवन मर्मत सम्भार तथा स्तरोन्नति गरिएको छ ।

खानेपानी, सिँचाई, सडक विद्युत, पुल, भवनजस्ता आधारभूत भौतिक पूर्वाधारहरुको निर्माण तथा विकास गरी प्रदेशका जनतालाई समाजिक एवम् आर्थिकरुपले समृद्ध बनाउने उद्देश्यले मधेस सरकार पूर्वाधार निर्माणमा जोड दिएको मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?