logo
२०८१ मंसिर ७ शुक्रवार



विकास र सम्बृद्धिका लागि खेलकुद आवश्यक : उपाध्यक्ष पौडेल

राष्ट्रिय |
खेलकुद |


विकास र सम्बृद्धिका लागि खेलकुद आवश्यक : उपाध्यक्ष पौडेल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ८ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रको विकास र सम्वृद्धिका लागि खेलकुद आवश्यक रहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उदघाटन गर्नुहुँदै पौडेलले सो कुरा बताउनुभएको हो ।

अस्थीर राजनीतिका कारण देशले खेलकुदको भरपुर विकास गर्न नसकेको भन्दै त्यसको परिपूर्ति मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्नुपर्ने उहााले बताउनुभयो । ७ वटै प्रदेशमा स्पोर्टस एकेडेमी स्थापनादेखि खेलकुद पूर्वाधार विकासमा एमाले नेतृत्वको सरकारले महत्वपूर्ण भूमिका खेले पनि स्थायी सरकार नहुँदा त्यसलाई संस्थागत गर्न नसकिएको उहाँले बताउनुभयो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको प्रथम राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । आइतबार सम्पन्न महाधिवेशनले ध्रुव आचार्यको अध्यक्षतामा २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

आचार्य यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । कमिटीको ८ जना उपाध्यक्षमा राजेश बज्राचार्य, जितेन्द्र श्रेष्ठ, महेन्द्र राई, राजेश गुरुङ, तेजविक्रम बस्नेत, तुलसी मैनाली, शशीकुमार बर्मा र देवबहादुर कुंवर चयन हुनुभएको छ । महासचिवमा पुरेन्द्रविक्रम लाखें एवं उपमहासचिवमा मदन उप्रेती र सुवर्णा श्रेष्ठ छनोट हुनुभएको छ ।

त्यस्तै, सचिवमा मिलन राना, देवी वाग्ले, चन्द्र वन्दना राई, डा. शक्ति बस्नेत, सुजु मल्ल, मन्दिरा वस्नेत, अन्जना शिवाकोटी, सन्जु महर्जन र ऋषिकेश श्रेष्ठ चयन हुनुभएको छ । निर्वाचनका लागि एकेडेमीका सस्थापक अध्यक्ष रमेश सिलवालको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको थियो ।

महाधिवेशनको पूर्व प्रधानमन्त्री तथा एकेडेमीका संरक्षक केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएपनि एमसीसीविरुद्ध उत्रेकाको अवरोधका कारण उहाँ कार्यक्रममा आउन सक्नु भएन । महाधिवेशनको उदघाटन एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नुभयो ।


नव निर्वाचित अध्यक्ष ध्रुव आचार्यले एकेडेमीको प्रदेश, जिल्ला हुदै ७ सय ५३ वटै स्थानीय तहमा कमिटी गठन गर्ने योजना बनाएको बताउनुभयो । पालिकास्तरदेखि नया“ खेलाडी उत्पादन गर्ने, खेलकुदमा लागेकालाई प्रशिक्षीत गरेर सबल बनाउने र सबललाई व्यवसायिक बनाउन भूमिका खेल्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवालले खेलकुदलाई खेलाडीमात्रका लागि नभइ आम नागरिकको स्वास्थ्य, मनोरन्जन र विकाससँग जोड्न आग्रह गर्नुभयो । सबैकालागि खेल आवश्यक रहेको उहाँले बताउनुभयो ।

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले खेलकुदको विकाससँगै जनताको बहुदलीय जनवादलाई नागरिकमाझ पुर्याउन स्पोर्टस एकेडेमीले ठूलो भूमिका खेलेको बताउनुभयो । कोरोना संक्रमणका कारण सुस्ताएका खेल गतिविधि पुनः अगाडि बढाउन एकेडेमीलाई थप सक्रिय हुन आग्रह गर्नुभयो ।

मदन भण्डारी वौद्धिक मञ्चका अध्यक्ष कुलबहादुर आचार्यले स्पोर्टस एकेडेमीले खेल गतिविधिसँगै जनताको बहुदलिय जनवादलाई फैलाउने काम गर्नुपर्ने बताउनुभयो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले युवा जोस र जाँगरलाई खेलकुदमा लगाउन सके अनुशासित युवा उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
बिभिन्न ब्यक्ति सम्मानित
एकेडेमीले खेलकुदको संरक्षण र विकासमा भूमिका खेलेको भन्दै विभिन्न खेलाडी तथा खेल संरक्षकहरुलाई सम्मानित गरेको छ । खेलकुदको विकास र संरक्षणमा सहयोग गरेको भन्दै पूर्ब युवा तथा खेलकुद मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल, मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारी सो अवसरमा सम्मानित हुनुभयो ।

सोहीअनुसार मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवाल र निवर्तमान अध्यक्ष विनोद श्रेष्ठ, संस्थापक महासचिब तथा कराते खेलाडी पुरेन्द्रविक्रम लाखे, अर्का खेलाडी तथा प्रशिक्षक राजन पाइजा लगायतलाई सो अवसरमा एकेडेमीले सम्मानित गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?