logo
२०८१ बैशाख २० बिहीवार

  अतिआवश्यक सेवा पाउन किन कष्ट भोग्नु पर्छ नागरिकले ?  



हेलचक्र्याइँ र काम गर्ने संस्कृतिको अभाव मुख्य कारण : पूर्व कर्मचारी

राष्ट्रिय |


हेलचक्र्याइँ र काम गर्ने संस्कृतिको अभाव मुख्य कारण : पूर्व कर्मचारी


काठमाडौं, फागुन ८ गते । नागरिकको दैनिक जीवनसँग जोडिएका सवारी चालक अनुपत्र, राहदानी जस्ता अति आवश्यकीय सेवा समयमै नपाउने भीडभाड र लामो समय कुर्नु पर्ने वाध्यता वर्षाैंदेखि जारी छ । सवारी कर भक्तानी प्रक्रिया, राष्ट्रिय परिचयपत्र वितरण प्रणाली, नागरिकता वितरण र मालपोतका सेवा जस्ता अति आवस्यक सेवा लिनेसेवाग्राहीले वर्षौंदेखि दु:ख पाउनुमा कर्मचारीमा सेवा भावको अभाव मुख्य कारण रहेको पूर्व कर्मचारीको भनाइ छ ।
सेवाग्राहीले आवेदन बुझाउन नै घटौं लाइन बस्नु पर्छ । सवारीचालक अनुमतीपत्र लिन मात्र सेवाग्राहीले एक वर्ष भन्दा बढी समय कुर्नु पर्ने बाध्यता छ, यो एउटा उदाहारण हो । तर यातायात व्यवस्था विभागले भने बर्षैंदेखि यो सेवालाई प्रभावकारी बनाउन पहल समेत गरेको पाइँदैन । नवीकरण गर्नु पर्ने लाइसेन्स पुनः प्रिन्ट गर्न १६ महिनासम्म कुर्नु परेको सेवाग्राहीको गुनासो छ । सामाग्रीको अभाव, इन्टरनेट, सर्वरको समस्या, ठेक्का प्रकृयामा समस्या, कर्मचारी अभाव जस्ता बाहान बनाएर कार्यालयले सेवाग्राहीलाई झुलाउने गरेको पाइन्छ ।छिटो र प्रभावकारी सेवा दिन आनाकानी र आलटाल गर्नु कार्यालय प्रमुख र कर्मचारीको कार्यक्षमता माथि प्रश्न उठ्ने गरेको तर पनि बर्षांैदेखि यो समस्या समधान हुन नसकेको मुख्य कारण भएको पूर्वसचिव गोपीनाथ मैनालीले बताउनुभयो । सवारीचालक अनुमतीपत्र लिन आवेदन दिएको दुई बर्ष पर्खनु पर्ने बाध्यता अझै पनि रहेको छ । राष्ट्रिय परिचयपत्र लिन, कर भक्तानी गर्न, राहदानी लिन, नागरिकता लिन र मालपोतमा घरजग्गाको कारवार गर्दा सेवाग्राहीले पटक पटक धाउनु पर्ने बाध्यता रहेको गुनासो छ ।

सजिलै सुधार गरेर सेवा प्रदान गर्न सकिने अवस्था भए पनि कर्मचारीको सेवाग्राहीलाई प्रभावकारी सेवाभावको मानसिकता परिर्वतन हुन नसक्नु मुख्य कारण भएको पूर्वसचिव मैनालीको अनुभव छ । कर्मचारीको मानसिकता परिर्वतन, कर्मचारीले सेवाग्राहीको तर्फबाट सोच्नु नसक्नु, सेवा भावको अभिमुखीकरण अभाव, डिजिटल अभिलेखीकरण अभाव, अरुका लागि काम भन्दै कर्मचारीमा कार्य संस्कृति अभाव, कार्यसम्पादन गर्न नसक्नेलाई निग्रनीमा राखेर सुधार गर्न नसक्नु र सेवाको प्रणाली बनाउन नसक्नुनै प्रभावकारी सेवा नपाउनुको कारण भएको उहाँले बताउनुभयो । यी विषयलाई सुधार गरे तुरुन्तै सेवा दिन सकिने उहाँको भनाई छ ।
अत्यावश्यक सेवाहरु ढिलाइ हुनुमा कर्मचारी प्रशासनकै हेलचेक्राइ रहेको नेपाल सरकारका पूर्वसचिव चन्द्रकुमार घिमिरेले बताउनुभयो । गरे के हुँदैन, कार्यशैली र प्रविधिलाई साथै लगेर सुधार गर्नसके तत्काल सेवा दिन सकिने उहाँले बताउनुभयो ।

कर्मचारी भर्ना प्रक्रिया एकदमै झन्झटिलो छ, सरुवा, बढुवाले कार्यालयमा कर्मचारी अभाव भए करार सेवाबाट भर्ना गरेर पनि सेवाग्राहीलाई तत्काल सेवा दिनु पर्ने खाँचो रहेको नेपाल सरकारका पूर्वसचिव केदारबहादुर अधिकारीले सुझाव दिनुभयो । कर्मचारी संगठनको पुनरावलोकन, कर्मचारीको कार्यशैली सुधार र प्रविधिमैत्री बनाउन तालिम दिनु पर्छ, प्रविधिले कार्य अवधिलाई घटाउँछ, त्यसैले यो आजको समयमा मुख्य बनेको उहाँको भनाई छ । कामको चाप भए कार्य विभाजन गरेर कार्यालय विस्तार गर्नु पर्ने उहाँले थप सुझाव दिनुभयो ।

सेवासुधारको पक्षमा यातायात विभाग
कम्जोर सेवाप्रवाहले एकदमै झण्झट र कष्टपुर्ण सेवा लिनु पर्ने एउटा मुख्यकार्यालय यातायात व्यवस्था विभाग पनि हो । पछिल्लो समय सेवाग्राहीले सवारी चालक अनुमतीपत्र लिनका लागि आवेदन फारम भरेको तीन बर्षसम्म पालो कुर्नु पर्ने बाध्यता अझै रहेको छ । यो सेवा सुधार नहुदाँ हजारांै सेवाग्राहीले सस्ती खेप्नु परे पनि अत्यावश्यक सेवालाई तत्काल वितरण गर्न विभागले अझै पनि नयाँ कार्यशैली अपनाउन सकेको पाइँदैन ।सेवाप्रवाहमा कमीकम्जोरी भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे स्वीकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, हामीले प्रभावकारी रुपमा छिटो सेवा दिन प्रयासरत रहेका छौ, विभागले हाल दैनिक छ हजार कार्ड प्रिन्ट गर्दै आएको छ, फागुनसम्ममा पुराना मौज्दात रहेका सबै स्मार्ट कार्ड प्रिन्ट गरी सक्ने र त्यसपछि तत्काल कार्ड उपलब्ध गराउने तयारीमा रहेको घिमिरेले जानकारी दिनुभयो । हाल विदेश जाने व्यक्ति, सेना, प्रहरी लगायत छ वटा वर्गलाई तत्काल स्मार्ट कार्ड उपलब्ध गराउदै आएका छौं, यो पनि एउटा सुधार भएको उहाँले बताउनुभयो ।

 

पुराना कार्ड प्रिन्ट सकिएपछि वाहिरी जिल्लाहरुमा एक महिना र काठमाडौं उपत्यकामा १५ दिन भित्रै स्मार्ट लाइसेन्स उपलब्ध गराउने विभागले जनाएको छ । हाल लिखित परिक्षा र ट्राइल पास गर्न साथ राजश्व लिएर तुरुन्तै एक वर्षे परीक्षणकालीन चालक अनुमतीपत्र प्रदान गर्न शुरु गरेको बताउनुभयो । एक वर्षसम्म सो व्यक्तिले पाँच पटक भन्दा कम गल्ती गरेमा स्वतः स्मार्ट चालक अनुमतीपत्र प्राप्त गर्ने र पाँच पटक भन्दा बढी गल्ती गरेरमा रद्द हुने छ ।
यता घरजग्गा खरिद विक्री र राजश्व वितरणमा समेत इन्टरनेट, सर्वर समस्या, कर्मचारी अभाव र पिन्टर जस्ता अन्य सामाग्रीमा समस्या हुने गरेको भन्दै सेवादिन आलटाल हुने गरेको सेवाग्राहीको गुनासो छ । प्रधानमन्त्री कार्यालयले हेल्लो सरकार नामबाट सेवाग्राहीको गुनासो सुन्ने र समधान गर्ने गरेपनि यो सेवासमेत प्रभावकारी हुन नसकेको गुनासो बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?