logo
२०८१ बैशाख ८ शनिवार



नुवाकोटमा हजार कैदीबन्दी राखिने

मुख्य समाचार |


नुवाकोटमा हजार कैदीबन्दी राखिने


काठमाडौँ, फागुन ११ गते । नुवाकोटको विदुर नगरपालिका–६, खम्बा क्याम्पस्थित केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन मसान्तसम्ममा एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्य तीव्र गतिमा भइरहेको छ ।

जिल्ला कारागार नुवाकोटका प्रमुख गङ्गालाल योगीले भौतिक पूर्वाधार निर्माणतर्फ ९५ प्रतिशत काम सम्पन्न भई सुरक्षा व्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भइरहेको बताउँदै भन्नुभयो, “फागुन मसान्तसम्ममा एउटा युनिटको दुई ब्लकमा पाँच÷पाँच सय कैदी राख्ने गरी निर्माण कार्य भइरहेको छ ।”

करिब ५४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउने छ । सीसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा, भेटघाट कक्ष, कानुनी परामर्श कक्ष आदि निर्माण हँुदैछ । उहाँका अनुसार पहिलो चरणमा सुन्धारास्थित जगन्नाथ देवल र डिल्लीबजार सदरखोर कारागारबाट एक हजार कैदीबन्दीलाई नुवाकोट ल्याउने तयारी छ तर पूर्ण सञ्चालनमा आउन कम्तीमा तीन महिना लाग्ने अनुमान गरिएको छ ।

“माघ मसान्तभित्रै नवनिर्मित कारागार सञ्चालन ल्याउने योजना थियो तर कोरोना सङ्क्रमण महामारीका कारण एक महिना ढिलो भएको छ,” गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागका प्रमुख जनकराज दाहालले बताउनुभयो । सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच सुरक्षा व्यवस्था तथा संरचना निर्माणसँग सम्बन्धित केही विषयमा समन्वय हुन नसकेकाले थप सुधारका काम पनि जारी रहेको विभागले जनाएको छ । करिब सात हजार कैदीबन्दी राख्ने क्षमता रहेको सो कारागार निर्माण कार्य छ महिनादेखि रफ्तारमा भइरहेको छ ।

नवनिर्मित कारागार कालकोठरी जस्तो नभई सीप विकास केन्द्र, हस्तकला उत्पादन कारखाना र असल नागरिक बनेर पुनः समाजमा फर्किने वातावरणमैत्री ढङ्गले निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अस्पताल, पुस्तकालय, व्यायामशाला, योगशाला, ध्यान केन्द्र, सीप तालिम केन्द्र र हस्तकला बिक्री वितरणलगायत विभिन्न कक्षसहितका सुविधा समेटिएका छन् । त्यस्तै अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री, अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै भवन र प्रजनन अधिकारबाट वञ्चित दम्पती कैदीबन्दीको अधिकारलाई समेत सुनिश्चित गरी आवास कक्ष निर्माण गरिएको छ ।

तेब्बर कैदीबन्दी
मुलुकका ७४ वटा कारागारमा करिब २८ हजार कैदीबन्दी छन् । विभागका अनुसार ती कारागारको क्षमता करिब १० हजार ७० भए पनि १८ हजार थप राखिएका छन् । सुन्धारास्थित जगन्नाथ देवल कारागारमा दुई हजारभन्दा बढी कैदीबन्दी छन् । यसको क्षमता साढे आठ सय मात्र हो । त्यस्तै ललितपुरको नख्खु कारागारमा १७० जना अटाउन सक्ने भए पनि साढे पाँच सयभन्दा बढी छन् । डिल्लीबजारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?