काठमाडौं, फागुन १२ गते । प्रतिनिधिसभा संसदको बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ । संसद बैठकमा भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर गर्दै आएको विरोध भने आज पनि जारी रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।
संसदमा प्रस्तुत मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आज छलफलका लागि कार्यसूची तय भएको छ । तर एमाले भने यसमा सहभागी नहुने भट्टराई बताउनुहुन्छ ।
हामी त यो संसदीय प्रक्रियालाई नै मानिरहेका छैनौँ, पूर्ववत् मागसहितको अडान कायम छ, उहाँले भन्नुभयो ।
पछिल्लो समय एमाले अध्यक्ष ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका लागि बालुवाटार पनि जानुभएको थियो । यससँगै गृहमन्त्री बालकृष्ण खाँणले पनि ओलीसँग भेट गर्नुभयो । तर पनि एमालेको अडान भने कायमै रहेको जनाइएको हो ।