logo
२०८१ मंसिर ९ आईतवार



चैतमै मेलम्चीको पानी वितरण हुने

राष्ट्रिय |


चैतमै मेलम्चीको पानी वितरण हुने


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १६ गते । खानेपानीमन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताउनुभएको छ । उहाँले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने प्रतिबद्धता गरिसकेको छ ।

नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले न्यूनतम महसुलमा सर्वसुलभ किसिमले उपभोक्ताले स्तरीय पानीको उपभोग गर्न पाउन् भन्ने चाहना सरकारको रहेको स्पष्ट पार्नुभयो । २०४६ फागुन १५ गते नेपाल खानेपानी संस्थानको स्थापना भएको थियो ।

उहाँले संविधानले गुणस्तरीय खानेपानीको पहुँचलाई नागरिकको मौलिक हकका रूपमा लिएको तथा सरकारले लिएको ‘एक घर एक धारा’ को नीतिलाई सार्थक तुल्याउन नेपाल खानेपानी संस्थानको भूमिका महìवपूर्ण हुने चर्चासमेत गर्नुभयो ।

संस्थानले आफ्नो सेवालाई मुलुकभरि विस्तार गर्नुपर्ने बताउँदै उहाँले यसका लागि तत्काल सर्वेक्षण (सर्वे) कार्य सुरु गर्न व्यवस्थापनलाई निर्देशनसमेत दिनुभयो । सेवा विस्तारका लागि मन्त्रालयले सहयोगका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । अहिले खानेपानी संस्थानले मुलुकको २३ वटा मुख्य सहरमा सेवा प्रदान गर्दै आएको छ । दिगो विकास लक्ष्य, सन् २०३० पूरा गर्नमा समेत खानेपानी संस्थानले ठूलो भूमिका निर्वाह गर्न सक्ने मन्त्री चौधरीको धारणा छ ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले अबको दिनमा परम्परागत ढङ्गले खानेपानी संस्थान अगाडि बढ्न नसक्ने बताउँदै संस्थान व्यावसायिक र प्रतिस्पर्धी हुन सकेन भने हरेक नागरिकलाई गुणस्तरीय पानी उपलब्ध गराउने संविधान प्रदत्त अधिकारको कार्यान्वयनका लागि सरकारले यस कार्यमा निजी क्षेत्रलाई समेत सहभागी गराउन सक्ने स्पष्ट पार्नुभयो ।

खानेपानी संस्थानको सेवा नागरिक मैत्री हुन नसकेको आम गुनासो रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिले संस्थानको पानी चुहावट ४५ प्रतिशत छ । यस्तो अवस्थामा संस्थान कसरी उँभो लाग्न सक्छ । ’” उहाँले चुहावटलाई १५ प्रतिशतमा झार्न संस्थान व्यवस्थापनलाई निर्देशनसमेत दिनुभयो । उहाँले पारदर्शिता, मितव्ययिता र व्यावसायिकतालाई मूलमन्त्र मानेर काम गर्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष गुणखर भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्चालक समितिकी सदस्य नीरकुमारी कुँवर, संस्थानका महाप्रबन्धक ईश्वरप्रसादलगायतले संस्थानले चालू आर्थिक वर्षमा संस्थानको सुधारका लागि भएका कार्यको विवरण प्रस्तुत गर्नुभएको थियो ।

संस्थानको कर्मचारी युनियनका प्रतिनिधि समिर पण्डितले भरतपुर, हेटौंँडा र धरानजस्ता सफल खानेपानी योजनाहरू हस्तान्तरण हुने तर घाटामा गएका आयोजना भने संस्थानले दायित्व लिने परम्पराले संस्थान कमजोर
हुन सक्ने बताए ।

कार्यक्रममा संस्थानका अवकाशप्राप्त कर्मचारीलाई दोसल्ला ओढाई सम्मान गरियो । यस्तै गत आर्थिक वर्षमा सबैभन्दा धेरै बिलिङ गर्ने पाँचवटा खानेपानी शाखाहरू धनगढी, विराटनगर, बुटवल, गौशाला, हेम्जा र भद्रपुरलाई पुरस्कृत गरियो । त्यस्तै संस्थानका उत्कृष्ट कर्मचारीहरू रिक्तबहादुर भुजेल, शान्तिकुमारी ज्ञवाली, राममाया घलान, शान्ति श्रेष्ठ, रत्नप्रसाद चौधरीलगायतलाई पुरस्कृत गरियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?