logo
२०८१ बैशाख २० बिहीवार



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कडाइ, बाहिरी घेरा मर्मत शुरु

राष्ट्रिय |


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कडाइ, बाहिरी घेरा मर्मत शुरु



काठमाडौं, फागुन १७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुधार गर्ने काम शुरु भएको छ । विमानस्थल व्यवस्थापनले बाहिरी घेरा कम्जोर हुँदा सुरक्षा व्यवस्थामा चुनौती थपेको भन्दै फिल्डमै मर्मतका काम अघि बढाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

विमानस्थलको निरीक्षणपश्चात् बाहिरी घेरामा कमजाेर बढी देखिएपछि झाडी सफा गर्ने, सुरक्षा पोष्ट मर्मत र थप, तारजालीको मर्मत र रातको समयमा बिजुली बत्ती र सिसिटिभी थप गर्ने जस्ता काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

विमानस्थलले सिनामंगल चोक, कोटेश्वर जडीबुटी, पेप्सीकोलासम्मको क्षेत्र बढी संवेदनशील भएको पाइएपछि तत्काल तारवार मर्मत, झाडी सफाइ र थप फिनिसिङ मर्मतका काम शुरु भएको हो ।

विमानस्थलमा यस्ता गम्भीर प्रकृतिका घटनाहरुले विमानस्थलको सुरक्षामाथि प्रश्न उठेको छ । विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थलमा खटिएका अन्य निकायका लागि यो घटना नौलो भने होइन ।

भौतिक संरचना सुधारलाई पहिलो प्राथमिकतामा राखेर आउने दिनमा यस्तो घटना दोहोरिन नदिने गरी काम शुरु गरेको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक पाँच सय भन्दा बढी उडान हुने गरेको छ । गत फागुन ९ गते विमानस्थल परिसरको तारवार नाघेर विना भिषा नै रौतहटका असरफ आलम कतारको दोहा उड्न लागेको नेपाल एअरलाइन्सको विमानमा पुगेका थिए । त्यसपछि विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठेको थियो ।

विमानस्थल क्षेत्र सुरक्षाको दृष्टिले अति नै संवेदनशील क्षेत्र भए पनि पटक पटक यस्ता घटनाहरु दोहोरिने गरेपछि यसको दीगो समधान गर्नका लागि विमानस्थलले थप योजनाबद्ध भएर काम अघि बढाउने गरी कार्य अघि बढाएको उहाँले बताउनुभयो ।

सुरक्षा व्यवस्थामा सुधार गर्न तीन वटा समिति गठन
गत फागुन ९ गते विमानस्थलको तारबार नाघेर एक युवा विमानस्थल पुगेपछि गृह मन्त्रालयले नारायण भट्टराई संयोजकत्वमा नौ सदस्सीय समिति गठन गरी अध्ययन शुरु गरेको छ । समितिको प्रतिवेदनपश्चात् थप योजना बनाउने तयारी थालेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था, कमजोरी र सुधारका लागि छानविन समितिले सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने जनाएको छ ।

यता, विमानस्थल अपरेसन शाखाका निर्देशक टेकनाथ सिटौलाको संयोजकत्वमा विमानस्थलको पूर्वाधार संरचना सुधारका लागि अध्ययन गर्न समिति गठन गरेको छ । समितिले एक साता भित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।

नेपाल नागरिक उडड्यन प्राधिकरण हवाइ सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठको संयोजकत्वमा सबै सुरक्षा निकाय प्रतिनिधि समेत रहने गरी स्थायी रुपमा समिति गठन गरेको छ । यो समितिले सुरक्षामा निरन्तर निगरानी बढाउने गरी एक्सन समितिको रुपमा काम गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशकको उपस्थितिमा फागुन ११ गते विमानस्थल सुरक्षा समितिको बैठक बसेर थप सुरक्षा व्यवस्था कडाइ बनाउने बारे छलफल भएको थियो । सुरक्षा समितिको संयोजकमा विमानस्थलका महाप्रवन्धक संयोजक रहने व्यवस्था छ ।

प्रहरीले अध्यागमन क्षेत्रको सुरक्षा गर्ने गरे पनि विमानस्थलको आउटर पेरिमिटरको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?