जनार्जन खत्री
सर्लाही, फागुन १७ गते। सर्लाहीको हरिपुरस्थित ऐतिहासिक एवं धार्मिकस्थल लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा मङ्गलबार दिनभर भक्तजनको भीडभाड थियो।
महाशिवरात्री पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भान्टाको भार तथा धानको मटका चढाउनका लागि हजारौं भक्तजनको भीड लागेको हो। मुसा लगायत छालारोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रीका दिन चितायन मन्दिरमा भाण्टाको भार चढाउने प्रचलन छ।
त्यस्तै चिताएको भाकल पूरा हुने विश्वासका साथ भक्तजनले परालद्वारा बाँधिएको धानको मटका (मौर) चढाउने गर्दछन्। मन्दिर परिसर भक्तजनले चढाएको भान्टाको भार र धानको मट्काले भरिभराउ बनेको छ।
मङ्गलबार दिनभर भक्तजनको भीड लागेका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित आयोजक समितिका स्वयंसेवकलाई व्यवस्थापनका लागि भ्याईनभ्याई भएको थियो। यहाँ भान्टाको भार र धानको मट्का चढाउन छिमेकी जिल्ला महोत्तरी, सिन्धुली, रौतहटसहित भारतबाटसमेत भक्तजन आउने गरेका छन्।
हरेक वर्ष महाशिवरात्रीको दिनदेखि चितायनमा मेला लाग्ने गरेको छ। यसवर्ष आगामी फागुन २२ गतेसम्म मेला चल्ने लक्ष्मीनाथ चितायन महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिनुभयो। धामीका अनुसार ३०० वर्षभन्दा अघिदेखि यो मेला लाग्दै आएको हो।