logo
२०८१ बैशाख १२ बुधवार



संस्कृत विश्वविद्यालयद्वारा मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज

शिक्षा |


संस्कृत विश्वविद्यालयद्वारा मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज


गोकर्ण पौडेल
तुलसीपुर, फागुन १७ गते । नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद क्याम्पस मिथिला आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको सम्बन्धन खारेज गरेको छ । संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको पहिलो जनकपुरमा रहेको आयुर्वेद कलेजको सम्बन्धन खारेज गरेको हो । चिकित्सा शिक्षा आयोगले मापदण्ड नपुगेको भन्दै विश्वविद्यालयलाई उक्त क्याम्पसको पठनपाठन तत्काल बन्द गर्न निर्देशन दिएको थियो । विश्वविद्यालयले पटक–पटक क्याम्पसलाई विद्यार्थीहरु पठनपाठनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तयारका लागि निर्देशन दिँदै आएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयले २०६४ सालमा उक्त क्याम्पसलाई आयुर्वेद स्नातक तह (बिएएमएस) कक्षा सञ्चालनका लागि सम्बन्धन दिएको थियो । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका प्रमुख(डीन) प्राडा सञ्जय पोखरेलले पटक–पटक क्याम्पसलाई भौतिक पूर्वाधार, जनशक्ति तयार गर्नका लागि दिएको निर्देशन पूरा नगरेका कारण सम्बन्धन खारेर गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोगले मापदण्ड पूरा गर्नका लागि पटक–पटक निर्देशन दिँदै आएको थियो । तर, उक्त मापदण्ड पालना भएन सम्बन्धन खारेज गरियो हो ।’

त्यहाँ अध्ययरत पहिलो र दोस्रो तहमा अध्ययरत २३ जना विद्यार्थीहरुलाई नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस आयुर्वेद विद्यापीठ बेलझुण्डीमा पठनपाठनको प्रबन्ध गरिएको डीन पोखरेलले बताउनुभयो ।

त्यसैगरी, धुलिखेल बनेपामा रहेको पतञ्जली आयुर्वेद क्याम्पसलाई समेत आवश्यक मापदण्ड पूरा गर्नका लागि चिकित्सा शिक्षा सेवा आयोगले निर्देशन दिएको छ । त्यस क्याम्पसलाई विश्वविद्यालयले आयुर्वेद स्नातक तह(बिएएमएस) कक्षा सञ्चालनका लागि २०७५ सालमा सम्बन्धन दिएको थियो । त्यस क्याम्पसमा १२० जना विद्यार्थीहरु अध्ययरत छन् ।

संस्कृत विश्वविद्यालयले २०६९ सालदेखि मात्रै आफ्नै क्याम्पसमा आयुर्वेद स्नातक तहको कक्षा सुरु गरेको थियो । अहिले दशौं ब्याचको कक्षा सञ्चालन भइरहेको छ । उक्त कलेजमा १५० जना विद्यार्थीहरु अध्ययरत छन् । साथै त्यस क्याम्पसमा पूर्णरुपमा मापदण्ड नपुगेको देखिएको छ ।

आयुर्वेद स्नातक तह(बिएएमएस) कक्षा सञ्चालनका लागि एक सय शैयाको शिक्षण अस्पताल, कम्तिमा ५१ जना विषय विशेषज्ञ(एमडि) आवश्यक पर्दछ । तर, अहिले आयुर्वेद केन्द्रीय विद्यापीठ बेलझुण्डीमा डीन, सहायक डीन र क्याम्पस प्रमुखसहित सात जना मात्रै हुनुहुन्छ । अझै ४४ जना एम डिकोे अभाव रहेको छ । जडिबुटी उद्यान (बोटानिकल गार्डेन) ल्याबको जनशक्ति आवश्यक पर्दछ । तर, अहिले दुवै नै छैन । विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल नहुँदा विद्यार्थीहरुले मासिक शुल्क तिरेर अन्यत्र अस्पतालमा प्रयोगात्मक अभ्यास सिकिरहेका छन् ।

यद्यपी, लुम्बिनी प्रदेश सरकार प्रदेश भौतिक पूर्वाधार प्राधिकरणले भर्खरै मात्र शिक्षण अस्पतालको निर्माण प्रक्रिया सुरु गरेको छ । विश्वविद्यालयका कुलसचिव सहप्रा माधव अधिकारीले जडिबुटी उद्यान(बोटानिकल गार्डेन) निर्माणका लागि कार्यकारी परिषद्बाट स्वीकृत भएर टेण्डरका लागि आयुर्वेद अध्ययन संस्थानमा पठाइएको बताउनुभयो । केन्द्रीय कार्यालयदेखि दक्षिणतर्फ रहेको १८ बिगाह जग्गामा जडिबुटी उद्यान(बोटानिकल गार्डेन) निर्माण गरिने भएको छ । ल्याबको जनशक्ति समेत तत्काल व्यवस्थापन गर्न थालेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?