logo
२०८१ बैशाख १३ बिहीवार



आगलागी घटनाको निरीक्षण गर्न नेता पौडेल दमौलीमा

राष्ट्रिय |
प्रदेश |


आगलागी घटनाको निरीक्षण गर्न नेता पौडेल दमौलीमा


अमरराज नहर्की
तनहुँ, फागुन २२ गते । तनहुँमा आइतबार भएको आगलागी घटनाको निरीक्षणको लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दमौली आउनुभएको छ । वरिष्ठ नेता पौडेल अग्नीपीडित वासिन्दासँग भेटेर क्षतिकाबारेका जानकारी लिनुभयो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मीलाई राहतको कार्य तत्काल अघि बढाउन उहाँले निर्देशन दिनुभयो ।

घटना भएको जानकारी पाउनासाथ प्रधानमन्त्री र गृहमन्त्रीलाई तत्कालै भेटगरी पानी बोक्ने हेलिकप्टर तथा बारुदयन्त्रको व्यवस्था मिलाएको वरिष्ठ नेता पौडेलले जानकारी दिनुभयो । ‘म प्रधानमन्त्रीकहाँ गएर गृहमन्त्रीलाई बोलाइ सिम्रिक एयरको हेलिकप्टर पठाउने व्यवस्था गरेको हुँ’ उहाँले भन्नुभयो ।

आगामी दिनमा त्यस्ता घटना नहोस् भन्ने कुरामा ध्यान दिई विपद प्रतिकार्य योजना बनाउन जरुरी रहेकोले सो अनुसारको काम गर्न जिल्ला प्रशासन कार्यालयलाई उहाँले निर्देशन दिनुभयो । दमौलीमा भएको आगलागीको घटनाले आफूलाई दुःखी बनाएको पौडेलले बताउनुभयो ।

आगलागी घटनाले जनजीवनमा आतंकित र त्रसित बनाएको भन्दै पौडेलले नआत्तिन पीडित परिवारलाई आग्रह गर्नुभयो । वारुण यन्त्रलाई चुस्त रुपमा राख्न सकेको भए कम क्षति हुने दावी समेत उहाँले गर्नुभयो । राहत र क्षतिपूर्तिका कार्यक्रम छिटै उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गर्ने पौडेलले आश्वासन दिनुभयो ।

स्थानीयतहले पहिलो प्राथमिकतामा राखेर वारुणयन्त्र खरिद गर्न पनि उहाँले सुझाव दिनुभयो । दमौली बजारकै मुटुमा भएको आगलागीको घटनाले सबैलाई झस्काएको नेता पौडेलले बताउनुभयो । हरेक किसिमका कामहरु गर्दा सावधानी र सतर्कता अपनाउन नसक्दा पनि आगलागीका घटनाहरु हुन सक्ने स्मरण उहाँले गराउनुभयो ।

आगो लागि निरीक्षणको लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शङ्कर भण्डारी, धु्रव वाग्ले, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा लगायतले स्थलगत रुपमा अग्नीपीडितसँग भेटगरी क्षतिबारे जानकारी लिनुभयो । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पनि आगलागी हुने विक्तिकै प्रधानमन्त्री तथा गृहमन्त्रीलाई टोलिफोन गरी तत्कालै आगो निभाउन हेलिकप्टर लगायत सबै सयन्त्र प्रयोग गर्न आग्रह गर्नुभएको थियो ।

आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको सिम्रिक एयरको हेलिकप्टर लिएर दमौली आउनुभएको थियो । हेलिकप्टरको प्रयोगविना आगो नियन्त्रण लिन असम्भव भएको खबर पाएपछि गृहमन्त्री बालकृष्ण खाँणसँग समन्वय गरी हेलिकप्टर लिएर आएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

आईतबार १०ः१० बजेको समयमा जिल्ला तनहुँ व्यास न.पा. वडा नं. ४ स्थित रहेको भुपाल हार्डवेयर पसलमा अचानक आगोलागी भएको भन्ने खबर प्राप्त हुनसाथ तत्काल जिप्रका तनहुँबाट पहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीको कमाण्डमा १०० जनाको टोली, जिल्ला प्रहरी कार्यालय लमजुङ र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव महानिरीक्षक समेत उपस्थित भई स्थानियबासी, जिल्लास्थित नेपाली सेना कालिभञ्याङगण चापाघाट, ससस्त्र प्रहरी गण भानुबाट खटिएका संयुक्त टोलीले दमकलको सहयोगमा दिउँसो ३ बजे आगोलाई नियन्त्रणमा लिएको थियो ।

आगलागी घटनाबाट भुपाल हार्डवेयर पसल र गोदाम पूर्णरुपमा जलेर क्षती भएको छ । वरपरका अन्य ९ वटा घरमा आंशिक रुपमा क्षती भएको, तनहुँसुर मिनि मार्केटको अगाडिको २ वटा सटरमा आंशिक क्षती भएको छ । त्यस्तै, आगो नियन्त्रणमा लिने क्रममा स्काभेटरले ३ वटा टहराहरु भत्किएकोे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?