logo
२०८१ बैशाख १५ शनिवार



भ्रमणले दुई प्रदेशबीचको सम्बन्ध प्रगाढ : मुख्यमन्त्री पोखरेल

राष्ट्रिय |
प्रदेश |


भ्रमणले दुई प्रदेशबीचको सम्बन्ध प्रगाढ : मुख्यमन्त्री पोखरेल


विजयकुमार साह
ढल्केवर, फागुन २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताउनुभएको छ । भ्रमणले दुई प्रदेशबीच प्रगाढ सम्बन्ध स्थापित भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मधेस प्रदेशको तीन दिने भ्रमण सकेर सोमबार फर्कनुभएको छ । फर्कनुअघि सञ्चारकर्मीसँगको कुराकारीमा देशकै मुख्य पर्यटकीय शहर पोखरा र धार्मिक केन्द्र जनकपुरधामबीचको हवाई यातायातले आर्थिक र धार्मिक पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।

मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुरधाम आउनुभएको थियो । मुख्यमन्त्री पोखरेलसहित प्रतिनिधिलाई मधेस प्रदेशका उधोग, पर्यटन तथा वनमन्त्री सत्रुघ्न महतोले मिथिला परम्पराअनुसार पाग तथा अबिर लगाएर विदाई गर्नुभयो ।

भ्रमणको क्रममा मधेस सरकारका मुख्यमन्त्री, मन्त्री तथा निजी क्षेत्रका लगानीकर्तासँग पर्यटन विकासका सम्बन्धमा सकारात्मक छलफल भएको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो । मधेस प्रदेशका वैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले भौगोलिक रुपमा टाढा भएपनि भावनात्मक रुपमा गण्डकी प्रदेश नजिक रहेको चर्चा गर्नुभयो । यहाँको सरकार, निजी क्षेत्र र जनताबाट अपार सम्मान मिलेको पनि उहाँले बताउनुभयो । मधेस भ्रमणको क्रममा उहाँले जनकपुरधामको जानकी मन्दिर, धनुषाधामको धनुषा मन्दिर, महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर लगायत मठमन्दिरमा पुजाआजा गर्नुभयो ।

भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलले नेपालको एकमात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवामा चढेर कुर्था रेल्वे स्टेसनसम्मको यात्रा गर्नुभयो । बुद्ध एयरले सोमबार, बिहिबार र शनिबार गरी हप्तामा दिन दिन जनकपुरधाम–पोखरा सिधा उडान सुरु गरेको छ । पोखराबाट सुरु भएको पहिलो उडानबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसहितको जनकपुरधाम आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?