हरिप्रसाद कोइराला
उर्लाबारी, फागुन २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले अन्याय गरेपनि एमालेलाई जनताले न्याय दिने बताउनुभएको छ । मोरङको रङ्गेली –७ स्थित जनता क्याम्पसको खेलमैदानमा एमाले मोरङले आयोजना गरेको तराई मधेस केन्द्रीत जनसभामा आज बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । रङ्गेली नगरपालिकाका नगरप्रमुख दिलिपकुमार बगडिया लगायतका नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकतालाई पार्टीमा स्वागत गर्न रङ्गेली पुग्नुभएका अध्यक्ष ओलीले जनतासँग न्याय माग गर्नुभयो ।
चुनाबपछि एमाले फेरि पहिलो शक्ति हुने दाबी गर्नुहुँदै वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका नागरिक सबैले एमालेलाई जिताउन तयार रहनुभएको उहाँले विश्वास व्यक्त गर्नुभयो । आफ्नै पार्टीका केही नेताले सरकार ढाल्न लागेपछि नयाँ जनादेशका लागि संसद विगठन गरेको उहाँले प्रष्ट पार्नुभयो ।
संसदलाई निस्प्रभावि बनाउने, चल्न नदिने, अनेक जालझेल गर्ने गतिविधि सुरु भएपछि संसद बिगठन गरी नयाँ निर्वाचनमा जाने निर्णय त्यतिबेलाको सरकारले गरेको उहाँले स्मरण गर्नुभयो । आफू नेतृत्वको सरकारले राम्रो काम गरेको उहाँले दावी गर्नुभयो ।
आफ्नो तीन वर्षे कार्यकालमा झण्डै ५ सय पुल निर्माण भएको, ४ सय झोलुङ्गे पुल बनेको, डब्बल लेनका सडक निर्माण भएको उहाँले चर्चा गर्नुभयो । धरहरा, रानीपोखरी, दरबार हाईस्कुल र सेनाको मुख्यालय निर्माण तोकिएको अवधिभन्दा अगाबै सम्पन्न गरेको उहाँले बताउनुभयो ।
पूर्वमन्त्री लालबाबु पण्डितले तराई मधेस केन्द्रीत जनसभा अन्तर्गत मोरङको रङ्गेलीबाट भेला सुरु गरेर मधेसी जनतासँग एमाले रहेको सङ्केत दिएको बताउनुभयो । जनताको पक्षमा काम गर्ने दल एमाले मात्र भएको उहाँले दावी गर्नुभयो ।
एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा आज एमाले प्रवेश गर्नुभएका रङ्गेली नगरपालिकाका नगरप्रमुख दिलिपकुमार बगडिया, जीवन बिकास समाजका अध्यक्ष योगेन्द्र मण्डल, सुरेश मिश्र लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख बगडिया, उपप्रमुख केशवकुमारी खरेल, वडा ७ का वडाध्यक्ष रामचन्द्र मण्डल र वडा १ का वडाध्यक्ष महेशकुमार खनाल एमाले प्रवेश गर्नुभयो । उहाँहरुलाई अध्यक्ष ओलीले स्वागत गर्नुभयो । उहाँहरु नेकपा (माओवादी केन्द्र) बाट एमाले प्रवेश गर्नुभएको हो । एमालेका जिल्ला कमिटी सचिव रुपेश खतिवडाकाअनुसार विभिन्न पालिकाबाट ५ हजार ५ सय जना नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभयो ।