अमराज नहर्की
तनहुँ, फागुन ३० गते । दुर्घनामा एकै गाउँका तीन जनाको मृत्यु भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–८ को ढोरफिर्दी शोकमा डुबेको छ । पृथ्वीराज मार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो बस र टाटासुमो जीप एकआपसमा ठोक्किदा साविक ढोरफिर्दी गाविसका अध्यक्षसहित तीन जनाको मृत्यु भएपछि ढोरफिर्दी शोकमा डुबेको हो ।
दुर्घटनामा वडा नम्बर–८ को गणेशटोल, ढोरफिर्दीका ७३ वर्षीय रुद्रबहादुर सेन ठकुरी, ५० वर्षीया लक्ष्मीकुमारी शाही र ३६ वर्षीय ओमप्रकाश गुरुङको मृत्यु भएको थियो । उहाँहरु तीनै जनाको मृत्यु भएपछि ढोरफिर्दी गाउँ शोकमा डुबेको शुक्लागण्डकी नगरपालिका–८ का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो ।
बुढ्यौली उमेरमा पनि विकास निर्माण तथा गाउँका सामाजिक कार्यमा आफैँ खटिने र खट्नको लागि प्रेरणा दिने पूर्वप्रधानपञ्च ढकुरी र अन्य दुई जनाको निधनले स्थानीय बासिन्दा शोकमा डुबेको वडाध्यक्ष रेग्मीले बताउनुभयो । ढोरफिर्दीका गाउँ सुनसान भएको छ भने शोकाकुल बनेका आफन्तजनहरु शव लिन चितवन पुगेका छन् ।
वडा नम्बर ८ का अध्यक्ष रेग्मीले शोक विज्ञप्ति जारी गर्दै घटनाको खबरले सिङ्गो वडा स्तब्ध भएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा दुर्घटनामा परि दिवंगत हुनुभएका शोकाकुल परिवारजनलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुलाई उचित उपचारको व्यवस्था गर्न सम्बन्धित पक्षहरुलाई आग्रह गरिएको छ ।
दुर्घटनमा घाइते भएका १३ मध्ये ढोरफिर्दीका तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ११ जनामध्ये चितवनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा आइतबार तीन जनाको मृत्यु भएको थियो ।
नारायणगढबाट पोखरा जाँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग३च ६०१२ नं.को टाटासुमो एक आफ्समा ठोक्किदा सुमोमा सवार ३ जनाको मृत्यु भएको घटनास्थलमा पुग्नुभएका इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरी अस्पताल पु¥याएका थिए । मृतकको शव पोष्टमार्टमका लागि चितवन मेडिकल कलेजमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।