बनेपा समाचारदाता
धुलिखेल, चैत ३ गते । गोरखापत्र संस्थानका प्रकाशनहरूको डिजिटल अर्काइभ निर्माणका लागि विज्ञहरूले महत्त्वपूर्ण सुझाव दिएका छन् । धुलिखेलमा मङ्गलबार र बुधबार आयोजित गोरखापत्र डिजिटल अर्काइभ कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रका विज्ञहरूले राष्ट्रकै निधिका रूपमा रहेका गोरखापत्र र दी राइजिङ नेपालसहितका प्रकाशनहरूको डिजिटल अर्काइभ बनाई सर्वसाधारणले सजिलै पढ्न र खोज्न मिल्ने बनाउन सुझाव दिएका थिए ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले डिजिटल अर्काइभ गरी डेटाबेस बनाउँदा पाठकहरूले सजिलै खोज्न मिल्ने गरी पाठकमैत्री प्रणाली विकास गर्नुपर्ने बताउनुभयो । क्याटलग बनाउने, इन्डेक्स बनाउने, सारांश प्रयोग गर्नेलगायत पुस्तकालय विज्ञानका विधिहरू त्यस कार्यमा उपयुक्त हुने सुझाव उहाँले दिनुभयो । पुस्तकालयमा स्थान अभाव तथा सुरक्षित भण्डारणको समस्याका कारण पत्रपत्रिका तथा पुस्तकहरू लामो समयसम्म जोगाउन सम्भव नभएकाले डिजिटल अर्काइभको महत्त्व बढेको उहाँले बताउनुभयो ।
राष्ट्रिय अभिलेखालयका सूचना अधिकारी कुमार श्रेष्ठले अभिलेखालयमा रहेका वि.सं. १९५८ देखि हालसम्मका गोरखापत्र र दी राइजिङ नेपालका प्रतिहरूलाई डिजिटाइज गर्न गोरखापत्रसँगको सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो । गोरखापत्र र राइजिङ नेपालका छुटेका अङ्कहरूको खोजीलाई निरन्तरता दिँदै उपलब्ध अङ्कहरूलाई डिजिटाइज गर्न उहाँले सुझाव दिनुभयो ।
काठमाडौँ विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख सहप्राध्यापक डा. बालकृष्ण बलले गोरखापत्रलाई डिजिटाइज गरिसकेपछि अप्टिकल क्यारेक्टर रिकग्निसन (ओसीआर) विधिबाट अक्षरमा रूपान्तरण गरी पाठसङ्ग्रह (कर्पस) निर्माण गर्नुपर्ने बताउनुभयो । पत्रपत्रिका स्क्यान गरी पीडीएफ वा तस्बिरमा रूपान्तरण गरेर मात्र पाठकको आवश्यकता पूर्ति नहुने भएकाले पाठसङ्ग्रह बनाई खोज्न पढ्न सकिने प्रणाली विकास गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली भाषाको विकासदेखि राजनीतिक–सामाजिक विकासक्रम बुझ्न यस्तो प्रणालीले ठूलो मद्दत गर्ने उहाँले बताउनुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका उपप्राध्यापक डा. बाबुराम दवाडीले गोरखापत्रसँग निकै ठूलो मात्रामा डेटा रहेकाले त्यसलाई भण्डारण गर्न सुरक्षित स्टोरेज आवश्यक पर्ने बताउनुभयो । ठूलो मात्रामा रहेका अक्षर तथा तस्बिरलाई व्यवस्थित डेटा सेन्टर र प्रणालीमार्फत पाठकका लागि उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो । पत्रपत्रिका स्क्यान गरी ओसीआरमार्फत अक्षरमा रूपान्तरण गर्न प्रविधिमा पोख्त जनशक्ति र व्यवस्थित प्राविधिक तयारी आवश्यक पर्ने भएकाले गोरखापत्रको डिजिटल अर्काइभ बनाउने अभियानलाई अनुसन्धान र विकास परियोजनाका रूपमा बुझ्नुपर्ने उहाँले बताउनुभयो ।
मार्टिन चौतारीका अनुसन्धाता डा. हर्षमान महर्जनले विभिन्न संस्थाले आआफ्नै ढङ्गबाट डिजिटल अर्काइभ गरिरहेकाले त्यस्ता संस्था तथा निकायका सङ्ग्रहबाट गोरखापत्रले लाभ लिन सक्ने बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म सम्पर्क गरी गोरखापत्रले आफ्नो अर्काइभ सुरक्षित गर्न उहाँले सुझाव दिनुभयो ।
काठमाडौँ विश्वविद्यालय, भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहालले कार्यशालाले डिजिटल अर्काइभलाई बहुउपयोगको बिन्दुसम्म पु-याउन महत्त्वपूर्ण सुझावहरू दिएको बताउनुभयो । गोरखापत्रले विकास गर्ने डिजिटल अर्काइभको प्रणाली आमपाठक र अनुसन्धाताहरूका लागि ठूलो स्रोत हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
गोरखापत्र संस्थानले डिजिटल अर्काइभ निर्माण गर्न बहुविधागत सहकार्यका लागि समाज विज्ञान, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ, अभिलेख विज्ञान र पुस्तकालय विज्ञानलगायतका विधाका विज्ञहरू सहभागी गरेर कार्यशाला सम्पन्न गरेको हो ।गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले डिजिटल अर्काइभको अवधारणागत स्पष्टता कायम गर्न कार्यशाला सफल रहेको बताउनुभयो । उहाँले गोरखापत्रको १२१ वर्षे इतिहासलाई भौतिक रूपमा पुस्तकालयमा समेत जगेर्ना गर्दै डिजिटल अर्काइभ गर्ने कार्यलाई पूर्णता दिइने बताउनुभयो ।