शिवशंङ्कर मिश्र
बारा, चैत्र ४ गते । पेट्रोल अनलोड गर्न पाकिङ्गमा राखेको ना.४ ख.२६५६ नम्बरको ट्यांकरमा आगलागी हुँदा सह–चालकको मृत्यु भएको छ । ब्याट्रीको तार सर्ट भएर आगो लाग्दा गम्भीर घाइते भएका ३० वर्षीय लक्ष्मण श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
आगलागीमा परेर घाइते भएका जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज टोलका श्रेष्ठको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । श्रेष्ठलाई अल्पाइन अस्पतालले कीर्तिपुर रिफर गरेको थियो ।
भारत गोरखपुर घर भएका आयल निगमका इलेक्ट्रीसियन २५ वर्षीय रामलखन प्रजापति भने आगलागीबाट सामान्य घाइते हुनुभएको छ । उहाँको अल्पाइन अस्पतालमा उपचार भइराखेको छ ।
आगलागीबाट पेट्रोल ट्यांकरको अगाडिको भागमा क्षति भएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको थापाले जानकारी दिनुभयो