राजु लामिछाने
रुकुम, पश्चिम, चैत ७ गते । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय राजनीति चुनावकेन्द्रित भएको बताउनुभएको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै सबै दलहरु चुनावी प्रशिक्षण, सभा तथा भेलासँगै उम्मेदवार छनाेटमा लागि परेको उहाँले बताउनुभएको हो ।
सोमबार गृह जिल्ला रुकुम पश्चिमको सल्ले विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले चुनावको लागि आवश्यक श्रोतको व्यवस्थापन गरिसकेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा मन्त्रालयले बजेटको व्यवस्थापन गरेको बताउनुहुँदै मन्त्री शर्माले अर्थ मन्त्रालयले स्राेतको व्यवस्थापन र विभागीय मन्त्रालयहरुले खर्च गर्ने काम समन्वयकारी रुपमा भैरहेको जानकारी दिनुभयो ।
मन्त्री शर्माले आफू गठबन्धन सरकारको मन्त्री भएको बताउनुहुँदै वर्तमान अवस्थामा गठबन्धनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । ‘संविधानको रक्षा र जनताको अधिकारको लागि गठबन्धन जरुरी भएर सरकार बनेको हो,’ मन्त्री शर्माले भन्नुभयो
आसन्न स्थानीय तहको चुनावको लागि पार्टीको केन्द्रीय निर्णय भएमा मात्र चुनावी गठबन्धनको विषयमा स्पष्ट भन्न सकिने उहाँले जनाउनुभयो । रुकुममा सहकार्यका लागि तयार रहेको बताउनुहुँदै उहाँले चुनावी सहकार्य नभएमा पनि एक्लै प्रतिस्पर्धा गर्न तयारी अवस्थामा रहेको जनाउनुभयो ।