गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको पुरातात्त्विक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा राष्ट्रिय सङ्ग्रहालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ।
राष्ट्रिय सङ्ग्रहालयको ८३औँ वार्षिकोत्सवका अवसरमा सोमबार छाउनीस्थित सङ्ग्रहालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले उक्त सङ्ग्रहालयले नेपाली कलाशैली, ज्ञान, सीप र परम्पराको संरक्षण गर्दै आएको र प्राग् मानवदेखि हालसम्मको मुलुकको सभ्यता र संस्कृतिको प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्नुभयो ।
यस सङ्ग्रहालयको प्रचार–प्रसार गरी मुलुकको एउटा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने बताउँदै उहाँले यस सङ्ग्रहालयलाई कम्तीमा सार्क राष्ट्रस्तरको बनाउन सम्बम्धित निकायलाई निर्देशनसमेत दिनुभयो।
विदेशी सङ्ग्रहालयसँग भगिनी सम्बन्ध कायम गरी ज्ञान, सीप र कला आदान–प्रदान गर्न सकियो भने विदेशमा समेत मुलुकको पहिचान स्थापित हुनुका साथै नेपाल विश्वकै पर्यटन गन्तव्यका रूपमा स्थापित हुन टेवा पुग्ने उहाँको धारणा छ । उहाँले सङ्ग्रहालयको वार्षिक बजेटलाई तीन करोडबाट कम्तीमा २५ करोडमा वृद्धि गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो।
सो अवसरमा मन्त्री आलेले जुद्ध जातीय कलाशालाको ‘भर्चुअल रियालिटी म्युजियम टुर’को शुभारम्भ, सङ्ग्रहालय परिसरमा रहेको मुस्ताङ कक्षको उद्घाटन गर्नुका साथै ‘राष्ट्रिय सङ्ग्रहालयको कला सम्पदा, भाग–५ को लोकार्पणसमेत गर्नुभयो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यो राष्ट्रिय सङ्ग्रहालय भएकाले यसको चरित्र पनि राष्ट्रिय हुनुपर्ने बताउँदै यस सङ्ग्रहालयले मुलुकभरिको कला र संस्कृतिको संरक्षण गर्नुपर्र्ने धारणा
व्यक्त गर्नुभयो ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले हातहतियार सङ्ग्रह गर्न शस्त्रगारका रूपमा विक्रम संवत् १८८१ मा युरोपेली वास्तुशैलीमा निर्माण गर्न लगाउनुभएको थियो । पछि यसलाई सिलखाना भनियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले युरोप यात्रापछि उक्त सिलखानालाई निजी ग्यालरीका रूपमा विकास गरी राणा परिवार तथा विदेशी पाहुनालाई मात्र देखाउनेगरी संवत् १९९५ फागुन १ गते उक्त सिलखाना वैश्यकका लागि आठ पैसा र १६ वर्षमुनिका लागि चार पैसा टिकट दरमा सर्वसाधारणका लागि खुला गरिएको थियो ।
संवत् १९९७ मा सिलखानालाई नेपाल म्युजियममा नामकरण गरियो । संवत् १९९९ मा प्रधानमन्त्री जुद्धशमशेरले आफ्नो निजी कक्षमा जुद्ध जातीय कलाशाला भवनको निर्माण गराए । संवत् २०२४ देखि नेपाल म्युजियमबाट राष्ट्रिय सङ्ग्रहालयका रूपमा नामकरण गरियो । यो सङ्ग्रहालय ४५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।