स्मृति मिश्र
महेन्द्रनगर, चैत ८ गते । नेपालका लागि बेलायती राजदूत निकोला पोलिट्ले किशोरीहरूलाई हिंसाबाट संरक्षण, सशक्तीकरण र जीविकोपार्जनका लागि सिप तथा बलियो आधारभूत शिक्षासँग समायोजन गर्नुपर्ने बताउनुभएको छ ।
सशक्त किशोरी सशक्त भविष्य भन्ने नाराका साथ स्ट्रिट चाइल्डले गल्र्स एजुकेसन च्यालेन्जमार्फत युके एडको आर्थिक सहयोगमा सञ्चालन गरेको मार्जिनलाइज्ड नो मोर कार्यक्रमको जनकपुरधाममा मङ्गलबार आयोजित समापन समारोहमा राजदूत पोलिटले सो कुरा बताउनुभएको हो ।
उहाँले किशोरीहरूलाई शिक्षित र सशक्त बनाउन तथा किशोरीविरुद्धको हिंसा अन्त्य गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘किशोरी तथा समावेशी शिक्षा सञ्जालको काम र स्थानीय किशोरी छलफल केन्द्र, किशोरी समुदाय समूहका कार्यले दुवैमा आत्मनिर्भरता तथा स्थानीय निर्णयकर्तासँग समन्वय गरी गुणात्मक शिक्षाका लागि बजेट र स्रोत उपलब्ध गराउन पहल आवश्यक छ ।’
सबै बालबालिका र खासगरी जात, गरिबी, अपाङ्गता, द्वन्द्व वा जलवायु सङ्कटका कारणका आधारमा अतिसिमान्तकृतहरूलाई कोरोना महामारीका कारण शिक्षामा बेहोर्नुपरेको क्षतिलाई न्यूनीकरण गर्न सक्ने र आधारभूत सीप हासिल गरी तयार रहन सक्ने बनाउने सन् २०२२ मा बेलायतको प्राथमिकता रहने राजदूत पोलिटले उल्लेख गर्नुभयो ।
राजदूत पोलिटले कोरोना वा बाढीविपतले महिला र किशोरीहरूलाई नै बढी असर गर्ने र उनीहरू नै बढी जोखिममा पर्नेगरेको भन्दै उनीहरू सबैभन्दा पहिला विद्यालय छाड्ने र फर्केर आउनेमा सबैभन्दा अन्तिममा पर्ने गरेको औंल्याउनुभयो ।
उहाँले गल्र्स एजुकेसन च्यालेन्जमार्फत बेलायतले सन् २०१२ देखि तीस हजारभन्दा बढी सीमान्तकृत किशोरीलाई लक्षित गरी सहयोग प्रदान गर्दै आएको बताउनुभयो । यस्तो बेलायती सहयोगको अधिकांश भाग चरम गरिबी, जातीय भेदभाव, लैंगिकता र पहिचानमा आधारित भेदभावजस्ता व्यापक चुनौती रहेको मधेस प्रदेशका किशोरी र समुदायमा केन्द्रित रहेको जानकारी दिनुभयो ।
उहाँले अधिकार, सामाजिक सुरक्षामा पहुँच र रोजगारको अवसरजस्ता सबालमा सुधार ल्याउनका लागि संघ, प्रदेश र स्थानीय संस्थाले विधान, अभियान र कार्यक्रममार्फत गरेका प्रयासलाई सराहना गर्दै अझै काम बाँकी नै रहेको बताउनुभयो ।
मार्जिनालाइज्ड नो मोर कार्यक्रम गल्र्स एजुकेसन च्यालेन्जको विश्वव्यापी रूपमै सबैभन्दा उत्कृष्ट कार्यक्रम रहेको भन्दै उहाँले त्यस कार्यक्रममार्फत अत्यधिक भेदभाव र बन्धक श्रमिकका रूपमा अवैध शोषणको चरम मारमा परेका दलित समुदाय मुसहरलाई भइरहेको सहयोगबारे जान्न पाएकामा हर्षसमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले पुस्तौंदेखि गरिबी र सीमान्ततीकरणमा परेको मुसहर समुदायका किशोरीको सबलीकरणका लागि माटिनालाइज्ड जो मोर कार्यक्रम अनुकरणीय रहेको बताउनुभयो ।
उहाँले मिहिनेती तर मानव विकास सूचङ्कमा निकै कमजोर अवस्थामा रहेको मुसहर समुदायको स्थितिमा सुधार ल्याउन प्रदेश सरकार शिक्षा, सीप र अर्थोपार्जनका अवसर तयार गर्न गम्भीर रहेको स्पष्ट पार्नुभयो ।
आसमान नेपाल, सहयोगी हातहरूको समूह, जानकी महिला जागरण समाजसँगको समझेदारीमा स्ट्रिट नेपालले मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सप्तरी तथा प्रदेश १ का सुनसरी जिल्लामा मार्जिनालाइज्ड नो मोर, गल्र्स एजुकेसन प्रोजेक्ट सञ्चालन गरेको थियो ।कार्यक्रमबाट १० देखि १९ वर्ष उमेर समूहका सात हजार ८५६ मुसहर किशोरीलाई आधारभूत साक्षरता, सङ्ख्यात्मक सिकाइ आदि उद्देश्यले गतिशील सिकाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।
विस्तृत जीवनोपयोगी सीप कौशल पाठ्यक्रममार्फत पनि किशोरीहरूलाई सहयोग गरिएको छ । कार्यक्रमका कारण तीन हजार १४६ किशोरी विद्यालयमा औपचारिक रूपमा भर्ना भएका छन् भने चार हजार ४२५ जनाले सफलतापूर्वक आफ्ना उद्यम स्थापना गरेका छन् ।