भोटराज राई
उदयपुर, चैत ८ गते। ड्युटीमा रहेको अवस्थामा मोरङको लेटाङमा ज्यान गुमाउन पुग्नुभएकी प्रहरी जवान उर्मिला श्रेष्ठको अन्तिम संस्कार गृहजिल्ला उदयपुरमा भएको छ। उदयपुरमा मङ्गलबार अन्तिम संस्कार भएको हो।
त्रियुगा नगरपालिका १६ को डिहिटारमा रहेको घरमा केही समय शव राखेपछि उनको परम्परागत शैलीमा दाहासंस्कार भएको जिल्ला प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो।
मृतक प्रहरीप्रति नेपाल प्रहरीले शोक सलामी दिएको थियो। गौतम नेतृत्वमा रहेको प्रहरी टोलीले शोक सलामी दिएको हो। खोटाङ माइती भएर उदयपुर घर भएकी प्रहरी जवान श्रेष्ठको मृत्युले गाउँनै शोकमा डुबेको छ।
घटनास्थलबाट उदयपुर ल्याइएको शव जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी जवान श्रेष्ठको घरसम्म पुर्याएको थियो। नेपाल प्रहरीले दाहासंस्कार खर्च २५ हजार रुपियाँ परिवारलाई उपलब्ध गराएको छ। तीन वर्षअघि प्रहरी सेवामा प्रवेश गर्नुभएकी श्रेष्ठको २६ वर्षको उमेरमै कर्तव्य पालनको क्रममा मृत्यु भएको हो।
मोरङको लेटाङ– ५ मा छात्रालाई शिक्षकले यौन दुव्र्यवहार गरेको विरोधमा भएको प्रदर्शनमा गम्भीर घाइते उहाँको उपचारको क्रममा मृत्यु भएको हो। श्रेष्ठ नेपाल प्रहरीको प्रदेश प्रहरी गण रानीमा कार्यरत हुनुहुन्थ्यो। एक वर्षअघि मात्र उहाँको विवाह भएको थियो। उहाँका श्रीमान नवीन श्रेष्ठसमेत प्रहरी सेवामै कार्यरत हुनुहुन्छ।