logo
२०८१ मंसिर ८ शनिवार



दृष्टि विशेषज्ञको लागि प्रदेश सरकारले नयाँ दरबन्दी सृजना गर्छ : मुख्यमन्त्री राउत

राष्ट्रिय |


दृष्टि विशेषज्ञको लागि  प्रदेश सरकारले नयाँ दरबन्दी सृजना गर्छ : मुख्यमन्त्री राउत


धर्बेन्द्र झा
धनुषा, चैत ९ गते । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले अगामी दिनमा प्रदेश मातहतका अस्पतालमा दृष्टि विशेषज्ञहरुको लागि नयाँ दरबन्दी सृजना गर्ने बताउनुभएको छ ।

विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबार नेपाल दृष्टि विशेषज्ञ सङ्घ मधेस प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानव जीवनको लागि अति महत्वपूर्ण अङ्गको रुपमा रहेको आँखाको विशेषज्ञ सेवाको सरकारी अस्पतालमा सुरुदेखि नै आभाव देखिएकोले नयाँ ओएण्डएम (सङ्गठन र व्यवस्थापनका लागि आवश्यक दरबन्दीका सृजना गरिने सर्वे डाटा)मा नयाँ दरबन्दी सृजना गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

आँखा जस्तो संवेदनशील क्षेत्रमा सरकारको ध्यान अहिलेसम्म नपुग्नु दुःखद रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकार मातहतको जिल्लास्थित अस्पतालका साथै स्थानीय तह मातहत रहेका अस्पतालमा समेत नयाँ दरबन्दी सृजना गर्ने किसिमले कामकाज अघि बढाउने बताउनुभयो ।

नेपालमा रहेको करिब १२ सय दृष्टि विशेषज्ञमध्ये मधेस प्रदेशमै करिब चार सय सङ्ख्या रहेको हुँदा उहाँहरुको व्यवस्थापनको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको कथन थियो ।

सङ्घका मधेस प्रदेश अध्यक्ष लाल मोहम्मदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादव, सामाजिक विकास मन्त्रालय मधेस प्रदेशका सचिव इमनारायण श्रेष्ठ, स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय झासहितको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?