प्रकाशविक्रम शाह
धनगढी, चैत ९ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले जीवनको महत्व के हो ? भन्ने जानकारी अध्यात्ममा लाग्दा थाहा हुने बताउनुभएको छ ।
बुधबार धनगढीमा भएको सर्वोदय शान्ति पदयात्राको स्वागत कार्यक्रममा बोल्नुहुँदै नेत्री देउवाले अध्यात्ममा लाग्दा सकारात्मक कुरातर्फ ध्यान जाने र नकारात्मक कुरा त्याग्न मद्दत पुग्ने बताउनुभएको हो ।
‘आफ्नो अनुभव सुनाउनुहुँदै अध्यात्मले जीवनमा हरेक समस्याबाट जोगिन मद्दत पुग्छ, म सात महिना बिमारी भएर जापान बसेँ त्यहाँ भाषाका कारण मसित कुरा गर्ने कोही थिएन त्यस्तो अवस्थामा अध्यात्मले नै सहजरुपमा उपचार गराउन प्रेरणा दियो ।,’ उहाँले भन्नुभयो ।
अध्यात्मले मनका सोचाइहरुलाई नियन्त्रणमा राख्न मद्दत पुग्ने समेत उल्लेख गर्नुहुँदै उहाँले डा. मणिभद्र मुनिजी महाराजको सन्देश, उपदेश, मन्त्रणाले निक्कै प्रभावित पार्ने र मनन गर्ने खालको भएको बताउनुभयो ।
उहाँले मणिभद्र महाराजको तपस्या गज्जब प्रेरणादायी भएको चर्चा गर्नुभयो । ४० वर्षदेखि हिँड्दै आउनु र ८५ हजार किलोमिटर हिँड्ने क्षमता र आत्मशक्ति अतुलनीय भएको पनि उहाँले जानकारी दिनुभयो ।
सो कार्यक्रममा डा. मणिभद्र मुनिजी महाराजले साधनाको माध्याबाट आफूलाई शान्त बनाउने प्रयास गर्नुपर्ने बताउनुभयो । ‘आफू शान्त भएपछि मात्र अरुलाई शान्तिको सन्देश दिन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘दुःखले कोही पनि आत्तिनु हुन्न । भगवान राम, कृष्ण र महावीरको जीवनमा पनि दुःख आएको थियो ।’
त्यस्तै, सो अवसरमा पूर्व सांसद शङ्कर पाण्डे, धनगढीका नगरप्रमुख नृपबहादुर वड, बीपी चिन्तन अन्तर्राष्ट्रिय समितिका सन्दीप रानालगायतले अध्यात्म र डा.मणिभद्र महाराजको बारेमा चर्चा गर्नुभएको थियो ।
मेचीबाट पैदल यात्रा गरेर नेपाल प्रवेश गरेको डा.मणिभद्र महाराज एवम् विराज मुनिजी महाराज पोखरा हुँदै धनगढी पुग्नुभएको थियो । उहाँहरु अब कञ्चनपुरको गाचौकी हुँदै भारत जानुहुनेछ ।
धनगढीमा सर्वोदय शान्तियात्रा र स्वागत कार्यक्रम सकल जैन समाजले आयोजना गरेको थियो ।