गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १० गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनहरूको साजसज्जालाई अझ आकर्षक र पाठकमैत्री बनाइने बताउनुभएको छ । गोरखापत्र संस्थानबाट प्रकाशन हुँदै आएका गोरखापत्र दैनिक र दी राइजिङ नेपालको ‘प्रारूप सजावट’सम्बन्धी एकदिने कार्यशाला गोष्ठीको बुधबार शुभारम्भ गर्दै कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, “अहिलेको प्रतिस्पर्धा सूचनाको स्तरभन्दा पनि साजसज्जामा बढी प्रतिस्पर्धात्मक देखिन थालेको छ । ”
गोरखापत्रको आफ्नै पहिचान र पुँजी छ, त्यो भनेको पाठकमा रहेको विश्वसनीयता नै हो भन्दै उहाँले हामीसँग गौरवमय इतिहास र लामो विरासत रहेको छ भन्नुभयो । उहाँले पाठकलाई सर्वोपरि राख्दै हामीले पस्किने समाचार सामग्रीमा अझ सुधार गर्ने र त्यससँगसँगै पृष्ठ सजावटलाई आकर्षक बनाउने योजनाअन्तर्गत नै कार्यशाला गोष्ठी आयोजना गरिएको हो भन्नुभयो ।
आधुनिक प्रविधि आत्मसात् गरेर अगाडि बढ्नुको विकल्प छैन भन्दै कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, “समयको माग र सङ्केतसँग दौड्न तयार हुनुपर्छ, होइन भने हामी असान्दर्भिक हुन सक्छौँ । ”गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले अखबारको गुणात्मक पक्षलाई अझ सुधार गर्न सम्पादक, फोटोपत्रकार, डिजाइनरसहितको सहभागिता हुनु राम्रो पक्ष रहेको बताउनुभयो । उहाँले अखबारप्रति पाठकको ध्यानाकर्षण अझ बढाउन र किन्नलाई उत्प्रेरित गर्न समाचार सामग्रीका साथै पृष्ठ सजावट अझ राम्रो बनाइने प्रयास जारी छ भन्नुभयो ।
गोष्ठीमा रामकृष्ण रानामगरले सजावटका विभिन्न विधामा तयार पारेको दृश्यात्मक सामग्रीबाट गोरखापत्र र राइजिङ नेपालमा रहेका राम्रा पक्ष र सुधार गर्नुपर्ने विषयलाई औँल्याउनुभयो । कार्यक्रममा गोरखापत्र संस्थानको सूचना प्रविधि विभागका निमित्त निर्देशक रेखादेवी श्रेष्ठ र प्रबन्धक नरेन्द्रबहादुर श्रेष्ठले गोरखापत्र संस्थानमा प्रविधिमा आएको परिवर्तनबारे चर्चा गर्नुभयो । यस्तै प्रबन्धक जुजुकाजी रञ्जितले कार्यशालाबाट आर्जन गरेको ज्ञानलाई पृष्ठ सजावटमा उतार्न सबैसँग आग्रह गर्नुभयो ।