जीबछ यादव
लाहान, चैत १२ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले विकोसको आधार नै सडक रहेकाले यस कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । सिरहाको चोहर्वा–सिरहा–माडर र मिर्चैया–कल्याणपुर–सिरहा दुई वटा सडक निर्माण कार्यलाई शुक्रबार शिलान्यास गर्दै यस्तो बताउनुभएको थियो ।
भौगोलिक सुगमता र विकटता भएको सातै प्रदेशमा सडक निर्माण कार्य प्राथमिकतामा राखेर समाजको समृद्धितर्फ सरकार ध्यान केन्द्रित रहेको उहाँले बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, ‘मधेस प्रदेशमा सडक विस्तार भएकै कारण गाउँ र शहर समृद्धिको लहर आएको छ । विकास जादुको छडी होइन, क्रमिक रुपमा नै हुने हो । वर्तमान सरकार संविधानको रक्षा र देशको समृद्धिको लागि गम्भीर छ ।’
मधेस प्रदेशको लाइफलाइनको रुपमा रहेको हुलाकी सडक निर्माण कार्य तीब्र गतिमा भइरहेको सन्तुष्टि व्यक्त गर्दै उहाँले थप्नुभयो, ‘बलानको पुल उद्घाट्न भएपछि सिरहा सप्तरीको दक्षिण भेगको मुहार नै फेरिएको छ । मधेस–पहाड जोड्ने सडक निर्माण कार्यको लागि सरकारले काम गरिरहेको छ । मधेसको आँप, अन्न पहाडमा पुग्छ, पहाडको स्याउ र सुन्तला जडिबुटी मधेसमा आइपुग्न सडक सञ्जालको निर्माण भइरहेको छ ।’
कार्यक्रमा सिरहा–४ का संघीय सांसद तथा पूर्व सूचना तथा प्रविधिमन्त्री राजकिशोर यादवले चोहर्वा–सिरहा–माडर सडक चार लेन बनाउन ४० करोड रकम विनियोजन भएको भन्दै दुई वर्षमा यो सडक निर्माण भइसक्ने जानकारी दिनुभयो । सुगममा पनि विकट रहेको ग्रामीण भेगमा समेत सडक सञ्जालबाट जोडेर समृद्ध सिरहा विकसित सिरहा बनाउने अभियान सफल भइरहेको उहाँले बताउनुभयो ।
मिर्चैया–कल्याणपुर–सिरहा सडक निर्माणको लागि समेत ४० करोड बजेट विनियोजन गरेर यसक्षेत्रको विकासको लागि ठूलो गुण लगाउनुभएको मन्त्री र सांसदद्वय यादवलाई सिरहा –४ (ख) प्रदेशसभा सदस्य सुरेश मण्डलले धन्यवाद दिनुभयो ।
पहिलो चरणमा चोहर्वा–सिरहा–माडर सडक दुई हजार ५५० मिटर लम्बाई, ग्रामीण क्षेत्रमा १४ मिटर रशहरी क्षेत्रमा १८ मिटर चौडाइ हुनेछ भने मिर्चैया–कल्याणपुर–सिरहा सडक पहिलो चरणमा आठ हजार ५५० मिटर र ११ मिटर चौडाइ रहने जानकारी गराएको थियो । दुबै सडकको लागि ८० करोड बजेट विनियोजन गरिएको दुबै सडकको शिलान्यास भौतिक पूर्वाधार यातायातमन्त्री रेणु यादव, संघीय सांसद राजकिशोर यादव र प्रदेशसभा सदस्या सुरेश मण्डलले शिलान्यास गर्नुभएको थियो ।