logo
२०८१ बैशाख ८ शनिवार



१३२ केभि डवल सर्किट प्रसारण लाइन सञ्चालनमा

राष्ट्रिय |
प्रदेश |


१३२ केभि डवल सर्किट प्रसारण लाइन सञ्चालनमा


गणेश खनाल
अर्घाखाँची, चैत १२ गते । जिल्लाको सन्धिखर्क नगरपालिका फुदवाङ ६ मा रहेको १३२ केभि सवस्टेशन सञ्चालनमा आएको छ । शनिवार उर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले उदघाटन गर्नुहुँदै कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको हो ।

प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाट स्थानीय क्षेत्रमा विधुत आपूर्ति गरिएको छ । प्रसारण लाइन सञ्चालनमा आएपछि कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान जिल्लाको विधुत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास गरिएको छ । अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घाखाँची, पाल्पा, गुल्मीमा विधुत आपूर्ति हुँदैआएको छ ।

विगतमा ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेजको समस्या हुँदै आएकोमा अब समस्या नहुने प्राविधिकहरूको भनाइ छ । उदघाटन कार्यक्रममा मन्त्री भुसालले अर्घाखाँचीमा निर्माण भएको पहिलो १३२ केभीको उच्च भोल्टेजको प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएकोले यस क्षेत्रमा विधुत आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने बताउनुभयो । अब वत्ती नजाने बताउदै मन्त्री भुसालले वत्ति बाल्न मात्रै नभएर खाना पकाउन पनि विधुत प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग पर्याप्त मात्रामा रहेको पानीलाई विधुत र सिंचाइमा रुपान्तरण गरी विधुत उत्पादन गरौं, कृषिको काम गरौं, आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अगाडि बढौं ।’

विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विधुतीकरणका लागि बजेट अभाव नभएको चर्चा गर्दै दुई वर्षभित्र सबैको घरमा विधुत पुर्याउन विधुतीकरणलाई जोड दिएको बताउनुभयो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका –७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसनबाट सुरु भई अर्घाखाँचीको शीतगंगा नगरपालिका हुँदै ३८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन सन्धिखर्क सबस्टेसनमा ल्याइएको छ । प्रसारण लाइनमा १०६ वटा टावर निर्माण गरिएको छ ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सन्धिखर्क सबस्टेसनको निर्माण गरिएको हो । मोतीपुर सबस्टेसनको गत ३ चैतमा उदघाटन गरिएको थियो । मोतीपुर–सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४ को चैतमा सिग्मा कोन जेडएस स्टील जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब ७० करोड रुपियाँ रहेको छ ।

विगतमा प्यूठानको झिम्रुक र गुल्मीदेखि लामो दुरीको ३३ केभीबाट विधुत आपूर्ति हुँदा लाइन ओभरलोड हुने समस्या हुँदै आएकोमा अब त्यस्तो समस्या समाधान भएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्रसारण लाइन र सबस्टेसनको निर्माणपछि प्राविधिक चुहावटमा कमी आई प्राधिकरणको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

सन्धिखर्क सबस्टेसन निर्माणका लागि २०७५ को जेठमा पावरटेक वाइबा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सबस्टेसनको अनुमानित लागत करिब ३७ करोड रुपियाँ रहेको छ । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विधुत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविधुत आयोजनाको विधुत प्रवाहका लागि बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन अवस्थामा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?