logo
२०८१ मंसिर ८ शनिवार



२२ वर्षपछि प्रहरी चौकी पुनःस्थापना हुँदा स्थानीय हर्षित

राष्ट्रिय |


२२ वर्षपछि प्रहरी चौकी पुनःस्थापना हुँदा स्थानीय हर्षित
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल प्रहरी चौकी विच्छ्याको उद्धघाटन गर्दै । तस्बिर – शेरबहादुर सार्की



शेरबहादुर सार्की
बाजुरा, चैत १४ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको –१ विच्छ्या नेटामा २२ वर्षपछि प्रहरी चौकीको पुनःस्थापना गरिएको छ । २०४९ सालमा स्थापना गरिएको सो प्रहरी चौकी २०५५ चैत २७ गते सशस्त्र द्वन्द्वका समय विस्थापित भएको थियो । विस्थापित भएको २२ वर्षपछि प्रहरी चौकी पुनःस्थापना भएपछि हिमाली गाउँपालिका १ ,२ र ३ का स्थानीयहरुमा खुसी छाएको छ ।

लामो समयसम्म प्रहरी सेवा प्रवाहमा वञ्चित हुँदै आएका त्यहाँका स्थानीयहरुलाई प्रहरी सेवा प्रवाह मिल्ने भएपछि सुरक्षाको प्रत्याभूति भएको भन्दै उनीहरुमा खुसी छाएको हो । प्रहरी चौकी विस्तापित हुँदा हिमाली गाउँपालिका वडा नं १,२ र ३ का नागरिकहरुले प्रहरी सेवा प्रवाह गर्न निकै कठिनाइ भोग्दै आउनुपरेको हिमाली गाउँपालिका वडा नं –१ का स्थानीय ललितधन थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ठाउँका स्थानीयलाई अन्य प्रहरी एकाइबाट सेवा प्रवाह गर्न पनि निकै समस्या हुँदै आएको थियो ।'' अन्य प्रहरी चौकीले त्यहाँका स्थानीयलाई प्रहरी सेवा प्रदान गर्नका लागि झण्डै चार दिनको पैदल यात्रा गर्नुपर्ने हुन्थ्यो अहिले यतै प्रहरी चौकी स्थापना भएपछि यो समस्या टरेको थापाले बताउनुभयो ।

गाउँमा कतिपय महिला हिंसा सम्बन्धित घटनाहरु भइरहेका छन् । यस्ता घटनाहरु न्यूनीकरण गर्नका लागि यहाँका महिलालाई प्रहरीको आवश्यक परेका बेला सहयोग लिन खोजे चार दिन पैदल यात्रा गरेर प्रहरीसँग सहयोग लिनुपर्ने हुन्थ्यो ।

अब यतै प्रहरी चौकी स्थापना भएपछि यहाँका महिलालाई पनि सुरक्षाको प्रत्याभूति भएको हिमाली गाउँपालिका १ विच्छ्या नेटाका स्थानीय महिला तारा थापाले बताउनुभयो । सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको सो प्रहरी चौकीलाई त्यहाँका स्थानीयले पुनःस्थापना गर्नका लागि सरकारसँग पटकपटक माग राख्दै आएको भए पनि पुनःस्थापना हुन सकिरहेको थिएन ।

यति बेला हिमाली गाउँपालिकाको पहल तथा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा गत शनिबारबाट हिमाली गाउँपालिकाको –१ को विच्छ्या नेटामा प्रहरी चौकी स्थापना गरिएको छ ।

प्रहरी चौकी स्थापना नहुँदा हिमाली गाउँपालिका विभिन्न क्षेत्रबाट जडीबुटी, डाँफे, कस्तुरी तथा प्रकृतिक श्रोत साधानहरुको चोरी निकासी भइरहेको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय राजबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अति विकट क्षेत्र साविकको विच्छ्या गाविसको वडा नं –४ मा २०४९ सालमा स्थापना भएको विच्छ्या प्रहरी चौकी २०५५ चैत २७ गते सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएको थियो ।’’

२०७८ चैत १३ गते जिल्लाका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक श्री चतुर्भुज ओझा जनप्रतिनिधि सरोकारवाला निकाय स्थानीय नागरिकहरुको उपस्थितिमा विच्छ्या प्रहरी चौकी स्थापना गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

उक्त चौकी विस्थापित हुँदा हिमाली गाउँपालिका वडा नं १,२ र ३ का नागरिकहरुले प्रहरी सेवा प्रवाह गर्न निकै कठिनाइ भोग्नुपरेको हिमाली गाउँपालिका वडा नं –१ का स्थानीय ललितधन थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?