गोरखापत्र अनलाइन
काठमाडौं, चैत १४ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्बोच्चताको रक्षाका लागि सरकारको दायित्व पूरा हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल न्याय सेवाअन्तर्गत नवप्रवेशी अधिकृतका लागि आयोजित सेवा प्रवेश तालिमको काठमाडौंमा समापन गर्नुहुँदै मन्त्री बडूले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारीसहित बनेको वर्तमान सरकार कानुनको शासनमार्फत सुशासन कायम गर्न क्रियाशील रहेको बताउनुभयो ।
संविधानअनुसार तीनै तहको निर्वाचन गर्ने दायित्व सरकारको काँधमा रहेको चर्चा गर्नुहुँदै सरकारको न्युनतम साझा कार्यक्रम कार्यान्वयनका लागि उच्च मनोबलका साथ कर्तब्यनिष्ठ भएर कार्यक्षेत्रमा खटिन उहाँले कर्मचारीलाई आग्रह गर्नुभयो ।
मन्त्री बडूले कानुन निर्माण, स्वतन्त्रतापूर्वक न्याय सम्पादन र कानुनको परिपालनाका लागि खबरदारी गर्ने दायित्व बोकेको न्याय सेवाका कर्मचारीले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । ‘लोकतन्त्रमा जनता नै मालिक हुने भएकाले पारदर्शिता र जवाफदेहितासहित जनसेवामा लाग्नुहोस’ मन्त्री बडूले भन्नुभयो, “‘तपाईँहरुमार्फत जनताले जिम्मेवार सरकारको अनुभूति गर्ने भएकाले कहींकतैबाट विचलित नभएर जनसन्तुष्टिका लागि काम गर्नुहोस् ।’
‘आवधिक निर्वाचनबाट आउने सरकार बदलिरहन्छन् तर तपाईंहरु स्थायी सरकारका प्रतिनिधि हो, त्यसैले लोकतन्त्र, कानुनी राज्य र सुशासन सुनिश्चितताका लागि कुशल कार्यसम्पादन र असल व्यवहारमार्फत जनताको विश्वास आर्जन गर्न सक्नुपर्छ’ मन्त्री बडूले भन्नुभयो ।
कार्यक्रममा सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक डा. तुलसीशरण सिग्देल र न्यायसेवा तालिम केन्द्रका प्रमुख बलसागर गिरीले सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता वृद्धि हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।