काठमाडौं, चैत १४ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनसम्मै गठबन्धन कायम राखिनुपर्ने बताउनुभएको छ ।
सोमबार रोल्पामा आयोजित जनयुद्ध स्मृति भ्यू टावर उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, ‘गत साल झण्डै प्रतिगमन हुने हो कि भन्ने खतरा पैदा भएको थियो । यसका लागि नयाँ खालको आन्दोलन गर्यौं ।’
तर, गठबन्धन टुटाउनका लागि देश भित्र र बाहिर धेरै चलखेल भएको र अहिले पनि यो जारी रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । गठबन्धनलाई कायम राख्ने र आगामी निर्वाचनमा पनि नयाँ रेकर्ड बनाएर जानुपर्ने उहाँको भनाइ छ ।
शान्ती सम्झौता, पहिलो र दोस्रो संविधान सभाको निर्वाचनदेखि नै रोल्पाले आफ्नो पहिचान गुम्न नदिएको उहाँले भन्नुभयो । विचार, नेतृत्वप्रतिको निष्ठालाई बग्न दिएको छैन । आगामी निर्वाचनमा पनि प्रतिगमनलाई परास्त गर्न लाल किल्लाकोरुपमा रोल्पा कायम रहने उहाँले बताउनुभयो ।
भ्यू टावरको निर्माणसँगै रोल्पाको ध्वंशको मात्रै होइन निर्माणको सन्देश देशैभरी सुनिएको पनि उहाँले बताउनुभएको छ ।