नेपालगञ्ज, चैत १५ गते। नेपालगञ्जको राँझा चोकमा टिपरको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेको भे १ क ६५७ नम्बरको टिपरले नेपालगञ्ज २० स्थित राँझा चोकमा ठक्कर दिँदा हुम्लाका वीरबरे भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो काट्ने क्रमका टिपरले उहाँलाई ठक्कर दिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार ५५ वर्षीय भण्डारी हुम्ला घर भएर हाल नेपालगञ्ज २० मा बस्दै अएका थिए। दुर्घटना लगत्तै ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो।
दुर्घटनापछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका छन्। प्रहरीले सडक खुलाउन खोज्दा केही समय तनाव भएको थियो। अहिले भने स्थिति सामान्य भएको छ।