logo
२०८० चैत्र १६ शुक्रवार



मुलुकको अर्थतन्त्र संकटतर्फ : अध्यक्ष ओली

राष्ट्रिय |
प्रदेश |


मुलुकको अर्थतन्त्र संकटतर्फ : अध्यक्ष ओली


लक्ष्मण पौडेल
भैरहवा, चैत १५ गते । पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख रहेको बताउनुभएको छ । बढ्दो महंगी र व्यापार घाटा चुलिदै गएकाले मुलुकको अर्थतन्त्र गम्भीर संकटतर्फ गएको उहाँले चर्चा गर्नुभयो ।

एमालेद्वारा लुम्बिनीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सबैभन्दा ठूला न्यायाधीश जनता भएको बताउनुभयो । आगामी चुनावमा जनताले सही फैसला गर्ने उहाँले दावी गर्नुभयो ।

आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षको अवधिमा भुकम्पप्रभावितलाई घरबास उपलव्ध गराउनेदेखि लिएर तराईमा बाढी पहिरोबाट बिस्थापित आठसय परिवारलाई घर निर्माण गरिदिएको उहाँले चर्चा गर्नुभयो । भैरहवाको गौतमबुद्ध विमानस्थल, लुम्बिनीको पाँच हजार मनिस् अट्ने सभाहल, जनकपुर–जयनगर रेल सेवा आफू सरकारमा भएकाबेला अगाडि बढेको उहाँले बताउनुभयो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले देशव्यापी एमालेमा प्रवेशको लहर बढेको भन्दै यसले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको विजय सुनिश्चित गरेको बताउनुभयो । गठबन्धन सरकारप्रति जनता निराश भएकाले एमालेप्रति जनलहर बढेको उहाँको भनाई छ ।

एमाले नेता खिमलाल भट्टराईले रुपन्देहीको दक्षिणी क्षेत्रमा पनि एमालेप्रतिको आकर्षण बढेको भन्दै स्थानीय निर्वाचनमा बिगतको तुलनामा धेरै स्थानीय तहमा जित हासिल गर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका विभिन्न वडामा निर्वाचित वडाध्यक्ष, वडा सदस्यलगायत विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?