logo
२०८१ बैशाख १४ शुक्रवार



बाँकेको नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनाको प्रक्रिया शुरु

राष्ट्रिय |


बाँकेको नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनाको प्रक्रिया शुरु
जिल्लाकै सबैभन्दा दुर्गम मानिने नरैनापुर गाउँपालिका । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, चैत १६ गते । वि.सं. २०७२ सालमा असुरक्षाको कारण देखाई बाँकेको नरैनापुरबाट नेपालगञ्जमा सारिएको इलाका प्रशासन कार्यालयलाई जनताको माग र दवावका कारण फेरि त्यही स्थापना गर्नेे प्रक्रिया शुरु गरिएको छ । इलाका प्रशासन नेपालगञ्ज सारिएपछि विभिन्न काम पर्दा गत छ वर्षदेखि नरैनापुरका बासिन्दालाई नेपालगञ्ज धाउनुपर्ने बाध्यता थियो । सोही कारणले स्थानीय जनताले आन्दोलन गरेपछि अहिले आएर उक्त कार्यालय फेरि त्यही लैजान लागिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले इलाका प्रशासन कार्यालयलाई नरैनापुरमै पुनःस्थापनाका लागि तयारी सुरु भएको जनाउँदै त्यसका लागि सम्बन्धित पालिकालाई भवन उपलब्ध गराउने भनी पत्राचार गरिएको बताउनुभयो । उहाँका अनुसार पालिकाले कार्यालयको लागि आवश्यक पर्ने भवन उपलब्ध गराउने बित्तिकै कार्यालय पुनःस्थापना गरिने समेत बताउनुभयो । सो कार्यालयका लागि आवश्यक कर्मचारीको व्यवस्थापन गरिएको पनि प्रजिअ खत्रीले बताउनुभयो ।

भवनका लागि जिल्ला प्रशासन कार्यालयबाट पत्र आएको जनाउँदै नरैनापुर गाउँपालिकाका प्रमुख ईश्तियाक अहमद शाहले भवनको व्यवस्थापन भैरहेको बताउनुभयो ।
इलाका प्रशासनका लागि भवनको व्यवस्था हुनेबित्तिकै कार्यालय नरैनापुरमा पुग्ने भएको छ । सो कार्यालयको पुनःस्थापनासँगै स्थानीयवासीलाई प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम नेपालगञ्ज आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

गत छ वर्षदेखि इलाका प्रशासन कार्यालय नरैनापुर नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको छ । नागरिकता र प्रशासनिकलगायतका सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज आउने जाने गर्नुपर्ने बाध्यता थियो ।

गाउँपालिकाले पाँचकोठे भवनको व्यवस्था गर्नेबित्तिकै कार्यालय स्थानान्तरण हुने प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभएको छ । यसअघि लामो समयदेखि इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न माग गर्दै आएका नरैनापुरवासीले केही दिन अघि ज्ञापनपत्र बुझाउनुका साथै धर्ना र हस्ताक्षर सङ्कलन अभियान पनि शुरु गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?