तौलिहवा, चैत्र १६। कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ गाउँ ब्लकमा रहेका ८२ घरधुरीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। लामो समयसम्म गाउँ ब्लक समस्यामा रहेर जग्गाधनी दर्ता प्रमाण पुर्जा नपाएकालाई लालपुर्जा वितरण गरिएको हो।
लालपुर्जा वितरण गर्दै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँ ब्लकमा रहेका सबै नागरिकले छिटो लालपुर्जा प्राप्त गरुन् भनेर विशेष अभियानमार्फत कामलाई तीब्र पारिएको बताउनुभयो। वर्तमान सरकार संविधानको रक्षा गर्न र संविधानमा भएका व्यवस्था अनुसार काम गर्न बनेको उहाँको भनाइ छ।
मन्त्री श्रेष्ठले जनतालाई तत्कालै फाइदा पुग्ने र रोजगारी सिर्जना हुने कार्यक्रम बनाउने र भू–उपयोगको सही तरिकाले सदुपयोग गर्न सक्ने नीति आवश्यक भएको बताउनुभयो। एक वर्षभित्र गाउँ ब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपुर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडि बढेको उहाँको भनाइ छ।
साथै उहाँले कर्मचारी र जनप्रतिनिधि मिलेर नतिजामा आधारित भएर काम गर्नु पर्ने बताउनुभएको छ। कार्यक्रममा शुद्धोधन गाँउपालिकाका अध्यक्ष निसार अहमद खाँले विगत २०२१ साल देखिको गाउँ ब्लक समस्या भर्खर समाधान हुन लागेको बताउनुभयो। एक गाउँ र वडा नभई १ वर्ष भरी सबै पालिका र जिल्लाबाट यो समस्या समाधान गर्न उहाँले आग्रह गर्नुभयो।
कपिलवस्तुमा २०२६ सालबाट सुुरु गरिएको गाउँ ब्लक जग्गा २०२८ मा समान्य नापी गरिएको थियो। त्यसपछि २०६५ बाट यसले निरन्तरता पाएको छ। हालसम्म जिल्लामा सविकका ८१ गाविसबाट १ हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक रहेको छ।
अहिलेसम्म १ हजार ८६ गाउँ ब्लकको नाप नक्सा कार्य सम्पन्न भएको छ भने २ सय ५९ वटा गाउँ ब्लकको ६ हजार ७ सय ६८ थान पुर्जा वितरण कार्य सम्पन्न भएको जिल्ला नापी कार्यालयमा प्रमुख कैलाशनाथ पाण्डेले बताउनुभयो।
नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे, गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेय, उप महानिर्देशक सुशील ढंगोल, गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम पन्थी, मालपोत कार्यालय तौलिहवाका प्रमुख ऋषिराम पौडेल लगायतको उपस्थिति रहेको थियो।